लिखु तामाकोशीः वडा नं ७ को भवन शिलान्यास, गाउँपालिकाको भवनसहित कुन–कुन वडाको बन्दै छ यो वर्ष ?

| भदौ १२, २०८० मंगलबार

A A A
A A A

१२ भदौ, रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङ्को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । मंगलबार वडाको हाटेचौर भन्ने स्थानमा अध्यक्ष कैलाश मगरले भवनको शिलान्यास गरेका हुन् । 

 

गत आर्थिक वर्ष २०७९/८० कै वडा कार्यालयको ५० लाख लागतमा बन्ने भवन बल्ल शिलान्यास भएको हो । आउँदो मंसिर भित्र निर्माण सम्पन्न गर्ने गरी श्री एस के इन्टर प्राईजेज एन्ड सप्लायर्स रामेछाप ठेक्कामा लिएर निर्माण थालेको हो । 

 

हाल सम्म भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको छ । भवन शिलान्यास गर्दै वडा अध्यक्ष मगरले यसै वर्षबाट आफ्नै भवनबाट जनतालाई सेवा प्रवाह गर्ने बताए । उनले वडा कार्यालय भवन निर्माण अगाडि बढेकोमा खुसी व्यक्त गर्दै सबैको सहयोगले भवन निर्माणले पूर्णता पाउने धारणा राखे । 

लिखु तामाकोशी गाउँपालिकामा गत आर्थिक वर्षमा २०७९/०८०  मा वडा नं ५, २ र ७ को भवन निर्माण गर्न बजेट छुट्एको थियो । जसमा वडा नं २ र ७ मा ५०–५० लाख, वडा नं ५ मा ४० लाख बजेट विनियोजन गरिएको पालिकाका प्रवक्ता समेत रहेका वडा नं ७ का अध्यक्ष मगरले रामेछाप टाइम्सलाई जानकारी दिए । यी वडा कार्यालयहरू निर्माणको चरणमा छन् । 

 

उनका अनुसार चालु आर्थिक वर्षको २०८०/०८१ मा वडा नं ३ र ६ को भवन निर्माण गर्नको लागि ४०–४० लाख बजेट विनियोजित गरिएको छ । वडा नं १ दुरागाउँ र वडा नं ४ को भने भवन बनेर संचालनमा छन् । 

 

त्यस्तै लामो समय देखिको जग्गा विवाद्ले गर्दा पालिकाको भवन निर्माणमा हुँदै आएको अनौल्ता सर्वोच्च अदालतको ‘स्टे अडर’ले काम गर्न अवरोध नहुने गरी जारी भएकाले चालु आ.व.मा पालिकाको भवन निर्माणको समेत काम अगाडि बढ्ने वडा अध्यक्ष मगरले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘काम गर्न अवरोध नहुने गरी ‘स्टेअडर’ भएको छ । यो पूर्ण फैसला भने हैन।’

 

सर्वोच्च अदालतले ‘स्टेअडर’ आदेश दिएकाले चालु आर्थिक वर्षमा पालिकाको भवन बनाउनको लागि ३ करोड बजेट विनियोजन गरिएको उनले बताए । ७ वटा वडा रहेको यो पालिकाको वडा नं ३, ४ र ५ को सिमाना कालेआल भन्ने स्थानमा पालिका कार्यालय भवन निर्माण हुने छ ।