उमाकुण्ड गाउँपालिकाले भन्यो–‘पेट्रोलियम पदार्थ र मासु पसलले सही ‘नाप तौल’को प्रयोग गर्नू’

| भदौ १९, २०८० मंगलबार

उमाकुण्ड गाउँपालिका प्रशासकीय केन्द्र, प्रिती । फाइल फोटो ।
A A A
A A A

१९ भदौ,रामेछाप । उमाकुण्ड गाउँपालिकाले पालिका भित्र बिक्री हुँदै आएको पेट्रोल, डिजेल, मट्टितेल र मासु पसलले सही ‘नाप तौल’को प्रयोग गरी बिक्री वितरण गर्न आग्रह गरेको छ । पेट्रोलियम पदार्थ बिक्री गर्दा मान्यता प्राप्त नाप तौल (लिटर) को मात्र प्रयोग गरी बेच्न भनेको हो । 

 

पालिकामा आज मंगलबार बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले बिक्री वितरण हुँदै आएको पेट्रोलियम पदार्थ सही तरिकाले बिक्री वितरण हुनु पर्ने भन्दै लिटरको सही मूल्याङ्कनबाट विक्री गर्ने निर्णय गरेको हो । गाउँ–गाउँमा अहिले पनि पेट्रोलियम पदार्थ अव्यवस्थित तरिकाले खरिद बिक्री हुँदै आएको छ । साथै मूल्य समेत चर्को असुल्ने गरेका छन् । प्रचलित दरभाउमा खरिद गरेर डबल मूल्यमा समेत बिक्री गर्ने गरेको पाइन्छ । यसरी बिक्रेताले उपभोक्तालाई ठग्दै आएका छन् । 

 

त्यस्तै पालिका भित्र सञ्चालित माछा, मासु बिक्रेताहरूले तोकिएको मापदण्ड पूरा गरेर मात्र बिक्री वितरण गर्ने पनि निर्णय गरेको छ । यस अगाडि ७ वटै वडाको बजार अनुगमन गरेको गाउँपालिकाले बजारमा बिक्री वितरण भइरहेका सामाग्रीको सही तरिकाले खरिद बिक्री गर्न जोड् दिएको हो । 

 

बैठक पछि प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जारी गरेको एक सूचनामा ‘पालिका भित्र सञ्चालित पेट्रोल, डिजेल, मट्टितेल र मासु जन्य वस्तु विक्रेताहरूले मान्यता प्राप्त नाप तौलको प्रयोग गरी र तोकिएको मापदण्ड पूरा गरी मात्र उक्त वस्तुहरूको बिक्री वितरण गर्नु’ भनिएको उल्लेख छ । 

 

पत्र हेर्नुहोस्