प्रजातान्त्रिक आन्दोलनका बलिया इतिहास मन्थलीका चूडामणि अधिकारी रहेनन्

| भदौ २६, २०८० मंगलबार

A A A
A A A

२६ असोज, रामेछाप । प्रजातान्त्रिक आन्दोलनको क्रममा लामो समय जेल जीवन व्यतीत गरेका रामेछापको मन्थली नगरपालिका वडा नं २ कठजोरका चूडामणि अधिकारीको निधन भएको छ । काँग्रेसका एक बलियो इतिहासको अन्त्य भएको काँग्रेस पाटी सचिव दीपक खड्काले जानकारी दिए । काठमाण्डौमा उपचार गराइरहेको अवस्थामा अधिकारीले आफू घरमै फर्किन चाहेको बताएपछि मन्थली ल्याउने क्रममा बाटोमै उनको निधन भएको सचिव खड्काले बताए । 

 

केही दिन अगाडि मन्थली अस्पतालले बिदा दिएपछि उनलाई थप उपचारको लागि काठमाडौँ लागिएको थियो । अधिकारीको जन्म विक्रम संवत् १९९८ मा भएको थियो । प्रजातान्त्रिक आन्दोलनको क्रममा ४ वर्ष भारतको कोलकत्तामा र रामेछाप कारागारमा ३ वर्ष गरी करिब ८ वर्ष जेल जीवन व्यतीत गरेका अधिकारीको तामाकोसी नदी किनारमा मंगलबार बिहानै अन्त्येष्टि गरिएको सचिव खड्काले बताए । 

 

२०१७ सालको राजा महेन्द्रको ‘कू’ कदम पश्चात् नेपाली काँग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको नेतृत्वमा सञ्चालित ‘हिट एण्ड रन’ मा सक्रिय हुँदै प्रवासमा ४ वर्ष र तत्कालीन पञ्चायती शासकको ३ वर्षसम्म कठोर यातना सहितको कैदी जीवन व्यतीत गरेका थिए । 

 

जिल्ला पार्टी उपसभापति लेखबहादुर कार्की र सचिव खड्काले पार्टीको झण्डा ओढाएर उनको अन्तिम दाहसंस्कार गरिएको हो । 

प्रजातान्त्रिक योद्धा अधिकारीको निधन प्रति दुःख व्यक्त गर्दै पाटी सचिव खड्काले भने ‘नेपाली काँग्रेस रामेछापको ऐतिहासिक व्यक्ति गुमाउनु पर्‍यो । हामीले उहाँबाट धेरै कुरा सिक्न जरुर थियो । ती कुरा उहाँ जीवित रहँदा हामीले ख्याल नपुर्‍याएको मलाई लाग्यो’ सचिव खड्काले थपे ‘उहाँसँग कुनै निजी स्वार्थ थिएन मात्रै काँग्रेस अनुशासित होस् । मिलोस् र निर्वाचनमा काँग्रेसले बाजी मारोस् । गरिब, किसान, जनता र राष्ट्रको पक्षमा निर्णय गरोस् भन्ने धारणा उहाँको थियो ।’

 

पार्टीका अग्रज नेताको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै सचिव खड्काले स्वर्गीय अधिकारीलाई स्मरण गर्दै भने ‘अनुकूल परिस्थितिमा राजनीतिकमा आउनेहरू, प्रतिकुल परिस्थिति देख्न साथ कुलेलाम ठोक्छन् ।’

 

वीर गणेशमान सिंहको बिचारसँग सहमत हुँदै निस्वार्थ राजनीतिकमा लाग्नु पर्ने अधिकारीबाट अहिलेको पुस्ताले सिक्नु पर्नेमा सचिव खड्काले जोड् दिए ।