गुन्सीमा वडाको आयोजनामा सांस्कृतिक कार्यक्रम सहित सामूहिक रूपमा मनाइयो तीज

| असोज २, २०८० मंगलबार

A A A
A A A

२ असोज, रामेछाप । रामेछापको गुन्सीमा हरितालिका (तीज) २०८० सांस्कृतिक कार्यक्रमका बिच सम्पन्न भएको छ । 

 

सुनापति गाउँपालिका वडा १ गुन्सीको आयोजनामा पालिका उपाध्यक्ष गीता विष्टको प्रमुख आतिथ्यता र वडा सदस्य डोकुमारी तिम्सिनाको अध्यक्षतामा तीज कार्यक्रम विभिन्न सांस्कृतिक कार्यक्रमका बिच भव्यताको साथ सम्पन्न भएको वडा अध्यक्ष ध्रुव चौलागाईले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘विभिन्न सांस्कृतिक कार्यक्रम पालिका उपाध्यक्ष सहितको उपस्थितिमा भव्यताको साथ वडाले मनायो ।’

 

स्थानीय महिला आमा, दिदी बहिनी सांस्कृतिक प्रस्तुति सहित भएको कार्यक्रममा तीजको शुभकामना आदान प्रदान, एकल, सामूहिक नृत्य प्रस्तुत गरिएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सह–सचिव समेत रहेका वडा अध्यक्ष चौलागाईले बताए । 

पछिल्लो समय वडाका महिलाहरूलाई विभिन्न कार्यक्रम गरी सक्रिय र चलायमान बनाउन लागि परेको बताउँदै नजिकिएका अन्य चाड पर्वमा पनि कार्यक्रमहरू तय गरिएको अध्यक्ष चौलागाईले जानकारी दिए । 

 

सोमबार देश व्यापी रूपमा हरितालिका (तीज) मनाइएको छ । बिहानै देखि देश भरका मठ मन्दिर लगायतका शक्ति पीठहरूमा भक्त जनको घुइँचो लागेको थियो । 

 

यता सदरमुकाम मन्थलीमा प्रहरी चौकी स्थिति शिव पार्वती मन्दिरमा पूजा अर्चना पछि मन्थली बिच बजारमा सामूहिक नृत्य गरी महिला दिदी बिहिनिहरुले रमाइलो गरेका थिए ।