दिमिपोखरीका मनकारी तामाङ र घिसिङ : अस्पताल निर्माणको लागि ५० लाख बराबरको जग्गा निःशुल्क दान

| असोज २, २०८० मंगलबार

A A A
A A A

२ असोज, रामेछाप । सुनापति गाउँपालिका वडा नं २ दिमिपोखरीका मोहन कुमार तामाङ र शम्भु घिसिङले अस्पताल निर्माणको लागि ५० लाख बराबरको जग्गा निःशुल्क दान गरेका छन् । 

 

सोमबार मनकारी तामाङ र घिसिङले संयुक्त रूपमा जग्गाको लालपुर्जा अस्पतालको अध्यक्ष डाक्टर दिलबहादुर तामाङलाई मालपोत कार्यालय मन्थली आएर हस्तान्तरण गरेका हुन् । 

 

दिमिपोखरी स्थित गाल्पा बतासे डाँडाँमा रहेको २ रोपनी जग्गा ‘कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पताल’ बन्ने भएपछि गाउँलेले उपचार नपाएर ज्यान गुमाउनु नपरोस् भनेर निःशुल्क दान गरेको जग्गा दाता कुमार तामाङ र शम्भु घिसिङले धारणा राखे । 

 

खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति तीन पालिकाको केन्द्रमा रहेको ऐतिहासिक गाल्पा बजारमा सञ्चालित अस्पताल स्थापना भए देखिनै गुस्तरिय सेवा प्रदान गर्दै आएको छ । र, यसलाई थप सुविधा सम्पन्न बनाउन लागिएको छ । 

 

डाक्टर दिलबहादुरले हरेक महिना शिविर मार्फत जनतालाई स्वास्थ्य सेवा दिँदै आएको सुनाउँदै यसलाई थप सुविधा सम्पन्न अस्पताल बनाएर सबै उपचारको लागि विस्तार गर्न लागेको जानकारी दिए । ‘मेरी आमाले स्वास्थ्य सेवा नपाएर अकालमा मृत्युवरण गर्नु भयो । उहाँको सम्झनमा दुर्गमका आम मान्छेले स्वास्थ्य सेवा पाउनबाट वञ्चित नहुन् भनेर सामुदायिक अस्पताल स्थापना गरेको र यसलाई थप विस्तार गर्न चाहन्छु ।’

 

 

जग्गा दाता मध्यका मोहन घिसिङ जिल्लाको अगुवा किवी किसान समेत हुन् । उनको किवी फममा किवीको बिरुवा र सुन्तला जातको बोट बिरुवा पनि पाइन्छ । उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङको पिता हुन् ।