नवजागरण साकोषको २५ औँ वार्षिक साधारण सभा र ‘रजत महोत्सव’ : १ वर्षमै १ करोड २६ लाख बढी नाफामा, एटिएम फ्री (भिडिओ)

| असोज २१, २०८० आइतबार

A A A
A A A

२१ असोज, रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था (साकोष) ले आफ्नो २५ वार्षिक साधारण सभा (रजत महोत्सव) शनिवार सम्पन्न गरेको छ । 

 

जिल्ला सदरमुकाम मन्थली,पुरानो सदरमुकाम रामेछाप, लिखु तामाकोशी गाउँपालिका र खाँडादेवी गाउँपालिकाबाट सेवा प्रदान गर्दै आएको यो सहकारीले गत असोज पहिलो हप्ता देखि यी चार पालिकाको विभिन्न ठाउँमा साधारण सभा सकेर शनिवार मन्थली स्थित सामुदायिक हलमा रजत महोत्सव सहित वार्षिक साधारण सभा सकेको हो । 

 

सहकारीका अध्यक्ष श्याम थापाको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष नारायणबहादुर कार्कीले संस्थाको आर्थिक प्रतिवेदन र सचिव सोमेश थापाले सहकारीको संस्थागत प्रतिवेदन पेस गरी पारित गरिएको छ । 

 

त्यस्तै विगतका वर्ष जस्तै साकोषले विभिन्न विधामा सम्मान  हस्तान्तरण गरेको छ । ९ हजार २ सय ४९ जना सदस्य मध्यबाट ज्येष्ठ नागरिक, असल शेयर सदस्य, असल ऋणी र असल बचत कर्ताहरूलाई खान पकाउने, कुकर, काँसको थाल, कचौरा, सम्मान पत्र लगायतले सम्मान गरेको सचिव सोमेश थापाले बताए । 

यो सम्मान टोल–टोलमा गरिएको साधारण सभा र शनिवारको साधारण सभामा सदस्यहरूलाई पायक पर्ने गरी हस्तान्तरण गरिएको सचिव थापाले बताए । 

 

साथै सचिव थापाले चालु आर्थिक वर्षको आगामी योजन सार्वजनिक गर्दै संस्थालाई थप नयाँ उचाइमा पुर्‍याउन ४२ बुँदे योजना समेत सार्वजनिक गरेका छन् । २५ औँ वर्ष पुगेको अवसरमा निशूल्क एटिएम सेवा प्रदान गर्ने सहित शेयर सदस्यहरूलाई लाभांश वितरण लगायत सदस्यको बृहत्तर हितमा कार्यक्रम रहेको उल्लेख छ । 

 

सचिव थापाले आगामी दिनको लागि शेयर सदस्य ९ हजार २ सय ४९ जनाबाट २०८०/०८१ मा कम्तीमा ११ हजार ५ सय पुर्‍याउने लक्ष्य, आगामी एक वर्षको बिचमा चुक्ता शेयर पुँजी ५ करोड ५० लाख रुपैयाँ पुर्‍याउने, बचत रकम ५८ करोड रुपैयाँ पुर्‍याउने लगायतका योजना सार्वजनिक गरेका हुन् । 

कोषाध्यक्षको प्रतिवेदन १ वर्षमै कमायौँ १ करोड २६ लाख बढी नाफा 

२०५५ साल साउन २२ गते २५ जना महिलाहरूबाट मासिक १० रुपैयाँ बचत सङ्कलन गरी सुरु भएको नवजागरणले २५ वर्ष मनाउँदै गर्दा करडौं नाफा कमाउन सफल भएको संस्थाका कोषाध्यक्षले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । 

 

सार्वजनिक प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्ष २०७९/८० मा अर्थात् एक आर्थिक वर्षमा मात्रै कूल १ करोड २६ लाख ८५ हजार ३४९ रुपैयाँ नाफा कमाउन सफल भएको छ । त्यस्तै संस्थाको शेयर पुँजी ४ करोड ७६ लाख ८३ हजार २ सय रुपैयाँ, बचत रकम ५० करोड ५१ लाख ६६ हजार ८३० रुपैयाँ ९२ पैसा रहेको कोषाध्यक्षले सार्वजनिक गरे । 

 

गत वर्ष ०७९/०८० मा ४० करोड ५२ लाख ४ हजार ४९९ रुपैयाँ ऋण लगानी गरेको जानकारी दिँदै दैनिक, मासिक रूपमा ऋण असुली भइरहेको बताए । 

 

कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिका मेयर लब श्रेष्ठले के भने हेर्नुहोस् भिडिओमा