हाइड्रोले सडक बिगारेको भन्दै बाम्तीभण्डारमा स्थानीयले गरे सडक बन्द

| असोज २१, २०८० आइतबार

A A A
A A A

२१ असोज, रामेछाप । लिखु नदीमा निर्माणाधीन जलविद्युत आयोजनाका ठुला मालवाहक गाडी गुडेर सडक बिग्रिएपछि बाम्तीभण्डारमा सडक बन्द गरिएको छ । हाइड्रोका ठुला गाडी गुडेर साना गाडी, एम्बुलेन्स चल्नै नसक्ने भएपछि बन्द गरेका हौँ स्थानीय ङिमा शेर्पाले रामेछाप टाइम्सलाई भने । 

 

केही दिन अगाडिको वर्षा र ठुला मालवाहक गाडी निरन्तर गुड्दा ठाडो खोला–दोखर्पा–भण्डार गुम्बा–रत्न ज्योति बजार हुँदै देउराली जोड्ने सडक ठुला गाडीको कारण बिग्रिएको हो । ‘सडकमा ठुला–ठुला खाल्डा परेको छ। साना गाडी त गुड्नै मिल्दै न । हिलो त्यस्तै छ । बिरामी बोक्ने गाडीहरू रात दिन हिलोमा फसेर हैरान भएका छन्, त्यसैले वडालाई जानकारी गराएर बन्द गरेका हौँ स्थानीय ङिमाले सुनाए । 

 

स्थानीयहरूले आइतबार वडा अध्यक्ष खम्बोधोज बस्नेतलाई जानकारी गराएर सडक बन्द गरेका हुन् । ‘रत्नज्योती बजार भन्दा माथि जिरो किलोदेखि भण्डार गुम्बा सम्मको सडक बन्द गरिएको छ । हाइड्रोपावरका ठुला–ठुला माल बाहक गाडीले सडक बिग्रिएपछि बन्द गर्न बाध्य भयो हामीले अध्यक्षलाई भनेको छौँ, तरुण दलका नेता समेत रहेका युवा नेता शेर्पाले  सुनाए ।

सडक बिग्रिए बस समेत नचल्ने भएपछि मर्मत गरिदै, तस्बिर स्रोत प्रदीप बस्नेत ।

बडा दसैँ, शुभ दीपावली लगायतका मुख्य चाड पर्व नजिकिएपछि बाहिर रहेकाहरू गाउँ फर्किने बेला सडकमा मोटरसाइकल समेत गुड्न नसक्ने गरी बिग्रिएको हो । विशेष गरी देउराली–बाम्तीभण्डार सडक बिग्रिएको छ । मोटरसाइकल पनि राम्रोसँग गुड्न सक्ने अवस्था छैन, स्थानीय जीवन घतानेले भने ।  

 

जिल्ला सदरमुकाम सहित राजधानी जोड्ने छोटो सडक बिग्रिएपछि त्यो सडक भएर यात्रा गर्ने यात्रु पनि हैरान भएका छन् । 

 

सडक हाइड्रोको कारण बिग्रिएको बारेमा जनप्रतिनिधिहरू जानकार रहे पनि सरोकारवाला भने चुपचाप देखिएका हुन् । हाइड्रोका गाडीले सडकमा खाल्डै खाल्डा बनाएर यात्रु वहाक बस समेत नगुड्ने भएपछि केही दिन अगाडि वडा कार्यालयले दोखर्पा क्षेत्रमा खाल्डा पुरेको थियो । पानी परेपछि थप बिग्रिएको छ । 

 

बाम्ती प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भुवन श्रेष्ठ सडक बन्द गरेको बारेमा जानकारी नरहेको भन्दै वडा अध्यक्षसँग सडक मर्मको लागि हाइड्रोपावर कम्पनीहरुसंग छलफल गर्ने विषयमा कुराकानी भएको बताउँछन् । ‘बन्द भएको जानकारी छैन । तर, सडक मर्मत गर्ने विषयमा केही दिन अगाडि अध्यक्षज्यूसँग सामूहिक कुराकानी भएको थियो । 

 

यसैविषयम वडा अध्यक्षसँग बुझ्न खोज्दा वडा अध्यक्ष खम्बधोज बन्नेतसंग फोन सम्पर्क हुने सकेन ।