मन्थली–३ः वडाले प्लास्टिक टनेल दिएपछि व्यवसायी तरकारी खेती बढ्दै, वडा कार्यालय धमाधम बन्दै

| असोज २६, २०८० शुक्रबार

A A A
A A A

२६ असोज, रामेछाप । मन्थली नगरपालिका वडा नं ३ कठजोरका किसानले वडाको सहयोगमा व्यवसायीक तरकारी खेती गरेर आम्दानी लिन थालेका छन् । वडा कार्यालयले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम अन्तरगत वडाले माग गरेका २६ जना किसानलाई प्लास्टिकको टनेल वितरण गरेको थियो । सो टनेलमा तरकारी खेती गरेर आम्दानी समेत गर्न थालेको वडा अध्यक्ष कृष्ण गोपाल थापाले रामेछाप टाइम्सलाई बताए । ‘उहाँहरूले मन्थली बजार, गाउँमै पनि तरकारी बेचेर आमदानी गर्न थाली सके । राम्रो उत्पादन भएको छ।’

 

वडाले प्रदान गरेको यो टनेल भित्र किसानले गोलभेँडा (टमटर), काउली, बन्दा, खुर्सानी लगायतका सबै खाले तरकारी फलाएका छन् । ‘सबैको घरमा १२/१५ किरेट त, मन्थलीमा ल्याएरै बेची सके ।’

 

वडा बासीलाई उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनको लागि प्लास्टिक टनेल वितरण गरिएको बताउँदै अहिले तरकारी फलेपछि किसानहरू पनि खुसी देखिएको वडा सचिव रविन जङ्ग कार्कीले बताए । ‘५ वर्षसम्म तरकारी फलाउन सकिन्छ । यसले आम्दानीमा जोडेका छौँ ।’

 

वडावासीको हितमा निकै काम भएको दाबी गर्दै आगामी योजनाहरू पनि अगाडि बढी सकेको वडा अध्यक्ष थापाले बताए । ‘४ जनाले त योजना सम्झौता गरेरै काम समेत थाली सके। हामीले यो वर्षको योजनाहरू अगाडि बढाइ सक्यौ ।’

वडा कार्यालय भवन फागुन पहिलो हप्ता सकिने । 

गत आर्थिक वर्ष २०७९/०८० देखि वडाको ठाँटी चौर भन्ने स्थानमा निर्माणाधीन २ तल्ले पक्की भवन आगामी फागुन पहिलो हप्ता निर्माण कम्पनीले आफूहरूलाई हस्तान्तरण गर्ने वडा अध्यक्ष थापाले रामेछाप टाइम्सलाई बताए । अहिले दोस्रो ढलानको काम समेत सकिएर वाल लाउने काम भइरहेको बताउँदै काम तीव्र गतिमा भइरहेको बताए । 

 

‘यो फागुनको पहिलो हप्ता निर्माण कम्पनीले हस्तान्तरण गर्ने हो । काम धमाधम भइरहेको छ ।’ २ करोड कूल लागत भएको यो भवन टेन्डर मार्फत भ्याट सही १ करोड २५ लाख लागतमा निर्माण भइरहेको हो । 

सबै विद्यालयमा ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम 

बालमैत्री स्थानीय तह अन्तर्गत वडा भित्र रहेका ४ वटा आधारभूत विद्यालयमा ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम गरिएको सचिव कार्कीले रामेछाप टाइम्सलाई बताए । वडाले १४ वटा वडा रहेको मन्थली नगर भित्रकै वडाहरू मध्य कै आफूहरूले ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम गरी विद्यालयका बालबालिका समस्या, गुनासा, जिज्ञासा सुनेको जानकारी गराए । 

वडा अध्यक्ष थापाले दाबी गर्दै भने ‘सायद यो कार्यक्रम नगरभित्र अरू कुनै वडाले गरेका छैनन् । हामीले गर्‍यौँ ।’ उनले थपे ‘वडाले बालबालिकालाई के गर्नु पर्ने छ । उनीहरूको केही समस्या गुनासाहरू छन् कि ? वडाले सहयोग गर्नु पर्ने छ कि ? पढ्न समस्या छ कि ? पारिवारिक वातावरण कस्तो छ ? भनेर हामीले बुझ्यौँ ।’

 

सो वडा भित्र कालिका आधारभूत विद्यालय,अर्चले आधारभूत विद्यालय, ठाँटी मादेव आधारभूत विद्यालय र गुञ्जेश्वरी आधारभूत विद्यालयमा गएको १८ र १९ गते सो कार्यक्रम गरिएको सचिव कार्कीले बताए । 

 

वडाका वृद्धवृद्धाहरुलाई सम्मान, विद्यालयलाई प्रविधि मैत्री, भौगोलिकतालाई ध्यानमा राख्दै माटो सुहाउने आँप र कागतीको बिरुवा वितरण गरिएको वडाले जनाएको हो । 

 

के-के गर्यो वडाले बुँदा गत रुपमा हेर्नुहोस् ।

मन्थली ३ का यी समाचार पनि पढ्नुहोस् 

मन्थली–३ ले दियो वडा भित्रका २११ जना वृद्धवृद्धालाई न्यानो कपडा

प्लास्टिक र कागजका टुक्रासमेत किनिदिने मन्थली ३ का अध्यक्ष थापाको ५ वर्षे योजना यस्तो छ (भिडिओसहित)

 

अध्यक्षसंगको टेलिफोन संवाद हेर्नुहोस् ।