सेलेघाट नाका भएर दशैं मनाउन हाल सम्म झण्डै २० हजार यात्रु भित्रिए, आज र भोलि बढ्ने

| कात्तिक ४, २०८० शनिबार

यात्रु बोकेर मन्थली बसपार्क तर्फ जाँदै बस तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स ।
A A A
A A A

४ असोज, रामेछाप । दशैं मनाउन जिल्ला बाहिर रहेकाहरू धमा–धम खर फर्की रहेका छन् । विशेष गरी आज (शनिवार) देखि आउँदो सोमबार महानवमीका दिन सम्मै दशैं मनाउन घर फर्किनेहरूको भिड लाग्ने गर्दछ । प्रदेशमा रहेकाहरूदेखि यो समय घर बाहिर रहेकाहरू धमाधम घर फर्की रहेका छन् । 

 

यसरी घर फर्किनेहरूलाई सुरक्षित यात्रा गराउन जिल्लामा ट्राफिक प्रहरी, प्रहरी, जिल्ला प्रशासन सहित स्थानीय सरकारहरू समेत जुटेका छन् । यात्रुलाई सुरक्षित र सहज रूपमा घर सम्म पुगेर दशैं मनाउने सबैको चाहना छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले पनि यात्रुको सुरक्षित यात्रालाई ध्यानमा राखेर अहिले चाड पर्व विशेष सुरक्षा योजना लागू गरेको छ । जस अन्तर्गत यात्रु, सवारी चालक, सहचालकहरूसँग छलफल, आग्रह र सचेतना समेत जगाउँदै आइ रहेको छ । जिल्ला सदरमुकाम मन्थली देवकोटा चोक र तराई तथा राजधानीबाट मुख्य प्रवेशद्वारको रूपमा रहेको  सेलेघाट चेक पोइन्टमा यात्रु सहायता कक्षा स्थापना गरेरै यात्रुको सुरक्षामा लागि परेको छ । 

 

घटस्थापनाको दिन देखि शुक्रवार राति सम्म दशैं मनाउन सेलेघाट नाका भएर करिब २० हजार यात्रु जिल्ला भित्रिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जिप्रकाका प्रहरी निरीक्षक एवं प्रवक्ता रञ्जन गिरीका अनुसार शुक्रवार राति सम्म घटस्थापनाको दिनदेखि १९ हजार १४५ जना सार्वजनिक यात्रु भित्रिएका हुन् । यो सङ्ख्या निजी गाडी, मोटरसाइकल बाहेकको हो । निजी र दुई पांग्रेमा बढेका कारण कम देखिएको मात्रै हो यात्रु धेरै आएका छन् । 

 

‘सेलेघाट नाकाको मात्रै तथ्याङ्क लिएका छौँ, सार्वजनिक गाडी भएर आउनेको सङ्ख्या मात्रै हो यो आज, भोलि र पर्सी अझै बढ्छ’ प्रवक्ता गिरीले भने । 

 

नौ सय एक सवारी मार्फत यी यात्रु जिल्ला भित्रिएका हुन् । हालसम्म सहज र सुरक्षित यात्रा गरिरहेको बताउँदै ट्राफिक जाम र अन्य कुनै ट्राफिक असर नरहेको प्रवक्ता गिरीले स्पष्ट पारे । ‘दोलखा, सित्खा लगायत अन्य नाकाको तथ्याङ्क लिएका छैनौँ ।’ 

 

जिल्लामा झण्डै २० हजार यात्रु बाहिरीदाँ सोही अवधिमा ६ सय ७८ सवारी साधन मार्फत ५ हजार १२८ यात्रु बाहिरिएका छन् ।

 

जिल्ला ट्राफिक प्रहरी प्रमुख दीपक चौलागाईले पनि यो अहिले सम्म यात्रुले सहज यात्रा गरिरहेको बताउँछन् । उनले भने ‘एक दुई मुडामा समेत आएको पाइएको छ । झण्डिएर, उभिएर आएको पाएको छैनौँ ।’ प्रमुख चौलागाईले थपे ‘हामी पनि लागि परेका छौँ, टिकट नपाएको ठगिएको त्यस्तो गुनासो छैन ।’

 

सुरुका केही दिनमा भने बढी भाडा लिएको पाइएपछि जिप्रकाले सवारी नियन्त्रणमा लिएर कारबाही गरी बढी लिएको भाडा समेत फिर्ता गरेको थियो ।