जगदीश घिमिरेको १० औँ स्मृति दिवस: डा.कर्माचार्यले भने ‘प्रतिष्ठानलाई राष्ट्रिय प्रतिष्ठान र विश्वविद्यालय बनाउनु पर्छ’

| कात्तिक १४, २०८० मंगलबार

A A A
A A A

१४ कात्तिक, रामेछाप । तामाकोशी सेवा समितिका संस्थापक,  समाजसेवी, साहित्यकार एवं पत्रकार जगदीश घिमिरेको १० औँ स्मृति दिवस मनाइएको छ । घिमिरेले आफ्नो जीवन कालमा विविध तरिकाले पुर्‍याएको योगदानको चर्चा परी चर्चा गर्दै उनको सम्झनामा श्रद्धाञ्जली समेत व्यक्त गरिएको हो । साथै स्वः घिमिरेको प्रतिष्ठान र यसको मातृ संस्थालाई विश्वविद्यालयको रूपमा स्थापित गर्नु पर्नेमा वक्ताहरूले जोड् दिए ।

 

मंगलबार विगतका वर्ष जस्तै तामाकोसी सेवा समिति, जगदीश घिमिरे प्रतिष्ठान, मन्थली बचत तथा ऋण सहकारी संस्था र तामाकोसी अस्पताल मन्थलीको संयुक्त आयोजनामा स्मृति दिवस मनाइएको हो । 

स्वः घिमिरेको स्मृतिमा उपस्थितिहरु, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

तामाकोसी सेवा समितिका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठको अध्यक्षतामा भएको स्मृति सभामा स्वर्गीय घिमिरेको सम्झनामा कविता र साहित्यको माध्यद्वारा उनलाई सम्झँदै समितिका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठ सहित, लेखक, विश्लेषक, राजनीतिज्ञ जगदीश घिमिरेसँग सहयात्रा गरेका र उनलाई नजिकबाट चिनेका डा.सुमन कर्माचार्य र स्वः घिमिरेका भतिज एवं मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द घिमिरेले जगदीशको लेख, रचना सहितको जीवनीको चर्चा र स्मरण गरे । उनीहरूले स्वः घिमिरे प्रति श्रद्धाञ्जली समेत व्यक्त गर्दै जगदीश घिमिरे एक सच्चा विकास प्रेमी र आम रामेछापेलीको जीवनबाट दुःखलाई चिर्न र आय आर्जनको बाटो देखाउने व्यक्ति भएको स्मरण दोहोर्‍याए । 

 

तामाकोसी अस्पतालका प्रबन्ध निर्देशक समेत रहेका डा‍.सुमन कर्माचार्यले स्वः घिमिरे भित्र अनेकन् खुबीहरू रहेको सम्झे । उनले भने ‘उहाँ एक पार्टीको कार्यकर्ता सदस्य हुनुहुन्थ्यो । तर, उहाँले आफ्नो लेख, रचना र साहित्यमा कतै राजनीति रङ्ग देखाउनु भएन । उहाँले बिपी कोइराला, पुष्पलालसँग भेटेको छुट्टै रमाइलो कथा छ । कथा, साहित्यमा उहाँले लेखेको जस्तो ‘अन्तर मनको यात्रा’ नेपालमा लेखिएको अहिले सम्मकै सबै विषय समेटिएको लेख हो । यसमा भूगोल, विज्ञान, साहित्य, राजनीति, कथा कविता सबै समेटिएको छ । यो सबैले  एक पटक पढ्नै पर्छ ।’ डा.सुमनले थपे ‘२६ वर्ष सम्म म के बन्ने भनेर नसोचेका जगदीशले कसरी र कुन–कुन परिस्थितिले एक सफल व्यक्तिको पहिचान दिन सक्नु भयो । सबै त्यो किताबमा छ । 

 

 

स्वः घिमिरेको चर्चा गर्दै डा.कर्माचार्यले तामाकोशी सेवा समिति घिमिरेले देखाएको बाटो भन्दै सबै मिलेर यसलाई एक राष्ट्रिय प्रतिष्ठान, विश्वविद्यालय र अन्तर्राष्ट्रिय शिक्षालयको रूपमा स्थापित गर्न सक्नु पर्नेमा जोड् दिए । डा.कर्माचार्यले घिमिरेले देखेको सपना पुरा गर्न लाग्नु पर्नेमा जोड् दिँदै भने ‘यो अस्पताल र समितिलाई राष्ट्रिय प्रतिष्ठान, विश्वविद्यालयको रूपमा जोगाउनु र स्थापित गर्नु पर्छ । हामीले यहाँ गरेको कामलाई अन्य देशले समेत गरुन् । राष्ट्रिय प्रतिष्ठान बनाएर यसलाई राष्ट्रको एक ठुलो संस्थाको रूपमा विकसित गर्न सक्नु पर्छ ।’