तेस्रो राष्ट्रिय माझी गोल्ड कपमा आयोजक सिन्धुलीलाई हराउँदै रामेछापको विजयी सुरुवात

| कात्तिक १५, २०८० बुधबार

A A A
A A A

१५ कात्तिक, रामेछाप । सिन्धुलीमा जारी ‘तेस्रो राष्ट्रिय माझी गोल्ड कप’ फुटबल कपमा आयोजक सिन्धुलीलाई सोझो सेटमा हराउँदै रामेछापले विजयी सुरुवात गरेको छ । बुधबारको तेस्रो सेटको पहिलो खेल खेलेको रामेछाप क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

 

मंगलबार जितको शुभकामना सहित रामेछापबाट त्यस तर्फ गएको टोलीले बुधवार पहिलो खेल आयोजक सिन्धुलीसँग खेलेको थियो । जसमा नेपाल माझी उत्थान संघ रामेछापका क्याप्टेन रोशन माझीले २२ मिनेटमा गोल गर्दै रामेछापलाई अग्रता दिलाए ।

 

निकै रोमाञ्चक खेलको ५८ मिनेटमा चन्द्रबहादुर माझीले दोस्रो गोल गर्दै रामेछापलाई २–० को जित दिलाएको नेपाल माझी उथान संघ रामेछापका प्रचारप्रसार समिति संयोजक बालकृष्ण माझीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

सिन्धुलीको मरिण गाउँपालिका वडा नं ७ बारबिसेको खेल मैदानमा गएको सोमबारदेखि जारी फुटबल कपमा देशभरिका माझी समुदायका २३ टिम सहभागी छन् । जसमा ‘ए’ र ‘बि’ समूहमा गरी दुई टिममा विभाजन गरी खेल हुँदै छ । रामेछाप ‘ए’ र सिन्धुली ‘बि’ समूहमा रहेका छन् । उनीहरु बुधबार खेलेका हुन् । 

 

खेलमा प्रथम हुने टिमले नगद २ लाख ६५ हजार ५५५ कप, मेडल र प्रमाणपत्र जित्ने छ । त्यस्तै द्वितीय, तृतीय हुनेले क्रमशः नगद १ लाख ३२ हजार २२२ र ६६ हजार ६६६ कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

 

त्यस्तै म्यान अफ द म्याचले नगद १५ हजार र ट्रफी, गोल स्कोरले नगद १० हजार ट्रफी र प्रमाणपत्र हासिल गर्ने छ । 

 

त्यस्तै उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट स्ट्राइकरले नगद १०–१० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।