विद्युत् प्राधिकरण रामेछापको ६० लाख महसुल उठ्न बाँकी : टोली खटाएर गरेर धमाधम लाइन काट्दै प्राधिकरण

खाँडादेवी गाउँपालिकाले १ लाख १४ हजार ९ सय ४६ रुपैयाँ २८ महसुलको पैसा तिरेको छैन

| कात्तिक २०, २०८० सोमबार

A A A
A A A

२० कात्तिक, रामेछाप । नेपाल विद्युत् प्राधिकरण रामेछापले लामो समय बित्दा पनि महसुल नतिर्ने उपभोक्ताको घरमा धमाधम बिजुली काट्न थालेको छ । उज्यालोको पर्व तिहार नजिकिँदै जाँदा बिजुलीको खपत बढ्ने र झिलिमिली पार्ने बेला ४ महिना भन्दा लामो समयदेखि महसुल नतिरी अटेर गर्नेको घर, उद्योग कलकारखानामा विद्युत् काट्न सुरु गरिएको प्राधिकरण वितरण केन्द्र मन्थलीले रामेछाप टाइम्सलाई बताएको हो । 

 

प्राधिकरणका प्रशासन प्रमुख एवं सूचना अधिकारी प्रकाश मैनालीले रामेछाप टाइम्ससंग भने ‘हामीले ४ महिना भन्दा बढी महसुल नतिर्ने ग्राहकको घरमा लाइन काटिरहेका छौँ’, जिल्लाका विभिन्न पालिकामा यही कात्तिक १५ गते यता मात्रै ५० घर भन्दा बढीको लाइन् काटी सकेका सुनाउँदै भने ‘दैनिक टोली नै खटाएर ३०/३५ घरको लाइन काटियो ।’  

 

चालु आर्थिक वर्षको चार महिनादेखि महसुल नतिर्ने उद्योग, सरकारी कार्यालय, स्थानीय तह, स्कुल, वडा कार्यालयहरूमा समेत लाइन काटिएको जानकारी दिँदै रामेछापमा ६० लाख रुपैयाँ महसुल उठ्न बाँकी रहेको बताए । 

 

उनका अनुसार उद्योगहरूबाट १५ लाख, खानेपानी तर्फ १५ लाख, सरकारी कार्यालयमा तर्फ १० लाख रुपैयाँ महसुल उठ्न बाँकी छ । 

 

त्यस्तै स्थानीय तह तर्फ खाँडादेवी गाउँपालिकाले १ लाख १४ हजार ९ सय ४६ रुपैयाँ २८ महसुलको पैसा तिरेको छैन । भने, डडुवाको सुर्के माविले ८० हजार भन्दा बढी महसुल नतिर्दा लाइनै काटिएको र लगत्तै उसले महसुल बुझाएको मैनालीले बताए । 

 

त्यस्तै जिल्ला सदरमुकाम मन्थली स्थित मन्थली माविले पनि ८१ हजार ४ सय ६९ रुपैयाँ ५५ पैसा भुक्तानी दिएको छैन । भने, उज्यालो रामेछाप अन्तर्गत बालिएको सुनापति गाउँपालिकाको सडक बत्तिको १ लाख ५० हजार बिल भुक्तानी नभएको सूचना अधिकारी मैनालीले सुनाए । 

 

आइतबार एक सूचना जारी गर्दै ‘प्राधिकरणले मिटर रिडिङ्ग भएको ६० औँ दिन सम्म पनि विद्युत् महसुल नबुझाउने ग्राहकहरूको लाइन काट्ने’ भन्दै चेतावनी समेत दिएको छ । 

 

लाइन काट्ने अभियान नै चलाएको प्राधिकरणले महसुल बुझाउन बाँकी रहेका ग्राहकलाई तत्काल महसुल भुक्तानी गर्न आग्रह पनि गरेको छ । ‘हामीले टोली नै तयार पारेर कहिले कैलाश अधिकारी, कहिले गणेशजंग बस्नेत र कहिले मैरै नेतृत्वमा लाइन काटी रहेका छौँ’, उनले प्रस्ट्याउँदै भने ‘मासिक रूपमा बिल पुर्‍याएका हुन्छौँ नपुगेको ठाउँमा जानकारी गराएका छौँ । सम्बन्धित निकायले नटेरे पछि जानकारी गराएरै काटेका हौँ ।’

 

सूचना अधिकारी मैनालीका अनुसार बिल भुक्तानी भएपछि काटिएको लाइन तत्काल सुचारु गर्ने र लाइन काटेको ६ महिना अवधि नाघेलाई भने नियमानुसार कालो सूचीमा राखिने छ ।