जिल्लामा सबै भन्दा धेरै कर तिरेर ओम स्टोर्स एण्ड सप्लायर्स र नवजागरण साकोष करदाता सेवा कार्यालयबाट सम्मानित

| मंसिर ७, २०८० बिहिबार

A A A
A A A

०७ मंसिर, रामेछाप । करदाता सेवा कार्यालय रामेछापले जिल्लामा सबै भन्दा बढी आयकर तिर्ने व्यक्तिगत र बैंक तथा वित्तीय संस्थातर्फ सहकारीलाई सम्मान पत्रले सम्मान गरेको छ ।  

 

करदाता सेवा कार्यालय मन्थलीमा दर्ता भएर व्यापार व्यवसाय गर्दै आएका नीति र विधि भित्र रहेर राज्यलाई तिर्ने कर समयमै तिर्दै आएको भन्दै व्यक्तिगत तर्फ श्री ओम स्टोर्स एण्ड सप्लायर्सकी सञ्चालक लक्ष्मी थापा र बैंक तथा वित्तीय संस्था तर्फ नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थलीलाई सम्मान पत्रले सम्मान गरेको हो । उनीहरूले गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा सबै भन्दा बढी कर तिरेका हुन् । 

 

१२ औँ राष्ट्रिय कर दिवसको सप्ताह व्यापी कार्यक्रम समापन गर्दै बिहीबार जिल्ला समन्वय समिति रामेछापको सभा हलमा कार्यक्रमकी प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले कर अधिकृत राजन मणी शर्मा सहितको उपस्थितिमा सम्मान पत्र हस्तान्तरण गरेकी हुन् । 

व्यक्तिगत पसलको सम्मान पत्र लक्ष्मी थापाले ग्रहण गरिन् भने नवजागरण सहकारीको सम्मान पत्र सहकारीका अध्यक्ष श्याम थापाले बुझे । उनीहरू श्रीमान् श्रीमती हुन् । करदाता सेवा कार्यालयले भिन्न विधामा गरेको सम्मान बुझ्नेमा भने श्रीमान् श्रीमती परेका हुन् । बिहीबार सम्मानित भएका व्यक्तिगत र संस्था विगतका केही वर्ष यता पनि सम्मानित हुँदै आएका थिए । 

 

१२ औँ कर दिवसको अवसरमा करदाता सेवा कार्यालय रामेछापले विभिन्न जनचेतना मूलक कार्यक्रम गरेको कर अधिकृत राजन मणी शर्माले जानकारी गराए । उनका अनुसार विभिन्न सञ्चार माध्यमबाट कर सम्बन्धी जनचेतना मूलक प्रचार प्रसार, रामेछाप नगरपालिकामा कर सम्बन्धी अभिमुखीकरण र उत्कृष्ट कर दाखिला गर्नेहरूलाई सम्मान गरी दिवस मनाएको छ । 

उनले कर कहरले भन्दा रहले तिर्ने वातावरण बन्दै गएको भन्दै सबैले आफूले राज्यलाई तिर्ने कर समयमै तिर्नु पर्नेमा जोड् दिए । 

कर अधिकृत राजन मणी शर्मा । सबै तस्बिर मिलन घिमिरे / रामेछाप टाइम्स 

त्यस्तै प्रमुख जिल्ला अधिकारी निरौलाले उद्योग वाणिज्य क्षेत्रको सफलता नै राज्यका विकासको मेरुदण्ड भएको बताउँदै त्यसमा सबै लाग्न आग्रह गरिन् । उनले करबाटै राज्यको स्रोत सुनिश्चित हुने हुँदा सबै नागरिकले सम्मानित हुने गरी तिर्नु पर्छ भनिन् । उनले कर प्रणाली पनि सुधार गर्न धेरै बाँकी रहेको भन्दै आफ्नो तर्फबाट सुधार आ-आफूले गर्नु पर्ने बताइन् । 

 

दिवसको अवसरमा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापामगर, जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेल र पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले धारणा राखेका थिए ।