रस्नालुका वडा अध्यक्ष कार्की भन्छन् ‘जनप्रतिनिधिले बाध्य भएर बजेट टुक्र्याउनु पर्छ, ३२ वटा यी योजनाका काम गर्छौँ’
०७ मंसिर, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष नर विक्रम कार्कीले जनतालाई सहज हुने योजना अघि सारेको दाबी गरेका छन् । करिब एक करोड ५५ लाख रुपैयाँ बजेटबाट चालु आर्थिक वर्षमा वडालाई विकसित बनाउन लागि परेको उनको भनाई छ ।
बिहीबार रामेछाप टाइम्ससंगको कुराकानीमा वडा अध्यक्ष कार्कीले भने ‘म अहिले टोल टोलमा समिति गठन गर्न लागेको छु । आउँदो ९ गते सम्म समिति गठन गरी सक्छौँ’, वडा अध्यक्ष कार्कीले आफूले जनताको मर्म र माग अनुसार काम गरेको दाबी गर्दै भने ‘१ करोड ५५ लाख जति बजेट परेको छ । हामी टोल–बस्तीमा पुगे सबैको सहमतिमा समिति गठन गर्दैछौं ।’
उनले टुक्रे योजना आफूले नचाहेको भए पनि जनताको माग त्यस्तै भएकाले बजेट टुक्र्याउनु बाध्य भएको तर्क गर्दै भने ‘जनताको माग पनि आफ्नो टोल, वडामा के योजना हाल्दे भन्ने हुन्छ । हालेन भने विभिन्न आरोप लाग्ने रहेछन् । त्यसैले नचाहेर पनि बजेट टुक्र्याउनु परेको छ । यस्तै बजेट टुक्र्याउँदा गोरेटो बाटो, खोल्सामा पुल, मर्मत, कुलो, ढल जस्ता योजना ३२ तयार भएका छन् ।’
दुई कार्यकाल वडा अध्यक्षको भूमिकामा निरन्तरता दिई रहेका वडा अध्यक्ष कार्कीले आफ्नो वडाको मूल सडकहरू दुई चरणमा कालो पत्रे हुँदै गरेको जानकारी गराउँदै आफ्नो वडामा ‘हिमालयन पोटेटो नाम संस्थाले ठुलो मात्रामा किवी, आलु र तरकारी खेती गर्दै आएको जानकारी गराए ।
उनले आफू जनता सामु गरेको बाचा पूरा गर्न केन्द्रित रहेको बताउँदै सबै वडावासीको घरमा चालु आर्थिक वर्षमै एक घर, एक धारा पूरा हुने बताए । उनले शैक्षिक सुधार निकै चुनौतीपूर्ण रहेको बताउँदै विद्यालय सुधारमा पनि लागिको बताए । ‘यो तत्काल हुँदैन केही वर्षपछि मात्रै यसको प्रतिफल देखिन्छ । तर, विद्यालय सुधार निकै चुनौतिपूर्णै छ ।’
कृषि क्षेत्रमा काम गर्छु भन्नेहरूलाई विगतमा दिएको अनुदानको गलत साबित भएकाले चालु आर्थिक वर्षबाट अनुदानलाई कटाएको बताउँदै भने ‘केही गर्छु भन्नेलाई अनुदानको व्यवस्था गरेका थियौ । तर जनताको साथ नपाएर हामीले यो कार्यक्रम रोकेका छौ ।’ उनले स्पष्ट पार्दै थपे ‘हामीले अनुदान बाढ्ने क्रममा भेदभाव भने गरेका छैनौँ । हामीले के थाहा पायौँ भने सौलिएत रूपमा किसानलाई ऋण दिँदा ठिक हुने रहेछ ।’
नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष कार्कीले वृद्ध भत्ता वितरणमा निकै चुनौती देखिएको स्वीकार गर्दै टोल–टोलमा गएर भत्ता बाढ्ने बाचा पूरा गर्न बैंक तथा वित्तीय संस्थासँग छलफल भइरहेको जानकारी दिए ।
भिडिओ पनि हेर्नुहोस्