करदाता सेवा कार्यालय रामेछापले लक्ष्य भन्दा ३ करोड बढी राजस्व संकलन उठायो (भिडिओ)

| मंसिर ८, २०८० शुक्रबार

A A A
A A A

०७ मंसिर, रामेछाप । करदाता सेवा कार्यालय रामेछापले चालु आर्थिक वर्षको कात्तिक सम्म उत्साहजनक रूपमा राजस्व संकलन गरेको छ । करदाता सेवा कार्यालय मन्थलीले आन्तरिक राजस्व कार्यालयले दिएको लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको जनाएको हो । 

 

बिहीबार १२ औँ राष्ट्रिय कर दिवस सप्ताह व्यापी कार्यक्रम समापनको अवसरमा रामेछाप टाइम्संग कुराकानी गर्दै कर अधिकृत राजन मणी शर्माले आफूहरूले लक्ष्य भन्दा बढी कर उत्साहजनक रूपमा उठाएको बताएका हुन् । ‘अहिले सम्म उत्साहजनक रूपमै कर उठेको छ । हामीले देशभरिमा टप टेनमा (Top 10)  पर्ने गरी राजस्व संकलन गरिरहेका छौँ ।’

 

कर अधिकृत शर्माका अनुसार बितेको चार महिनामा करदाता सेवा कार्यालय मन्थलीले ११ करोड ३५ हजार २ सय रुपैयाँ अर्थात् १३० दशमलव ४४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो । आन्तरिक राजस्व विभागले यो अवधिमा कूल ८ करोड ७ लाख १३ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । यसरी हेर्दा ४ महिनामा करदाता सेवा कार्यालयले ३ करोड भन्दा बढी राजस्व संकलन गरेको हो । 

 

कर अधिकृत शर्माका अनुसार विगत देखि गरिँदै आएको कर सम्बन्धी विभिन्न सचेतना मूलक कार्यक्रमको प्रभाव देखिन थालेकाले व्यक्ति, फर्महरू करको दायरामा आउन थालेको हुन् । ‘विस्तार विस्तार यो सङ्ख्या बढ्दो छ । एकै पटक हुँदैन । हामीले यसलाई अझ बढाउने गरी सचेतना मूलक कार्यक्रमहरू स्थानीय तहहरू, व्यवसायीसँग समन्वय र सहकार्य गरेर गर्दैछौं ।’

कर अधिकृत राजन मणी शर्मा तस्बिर मिलन घिमिरे / रामेछाप टाइम्सल 

४ महिना अगाडि मात्रै जिम्मेवारीमा आएका शर्माका अनुसार चालु आर्थिक वर्ष भरीमा ३९ करोड ७९ लाख ७३ हजार राजस्व संकलन गर्नु पर्नेछ । त्यसको २९ दशमवलभ २९ प्रतिशत भने हाल सम्म उठी सकेको छ । 

 

त्यस्तै चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक सम्म अन्तः शुल्क २१, आयकर २१२, व्यक्तिगत प्यान ४९३, मूल्य अभिवृद्धि कर ३६ र सरकारी ३२ गरी कूल ७ सय ९४ प्यान जारी गरेको छ । जसमा हाल सम्म अन्तः शुल्क ३७२, आयकर ८ हजार ७९४, व्यक्तिगत प्यान ३ हजार ७ सय ८४, मूल्य अभिवृद्धि कर ८ सय ७४, र सरकारी २ सय ६७ गरी कूल १४ हजार ९१ करदाता सेवा कार्यालयमा आबद्ध भएको करदाता सेवा कार्यालयको तथ्याङ्कले देखाउँछ । 

 

बिहीबार मात्रै सप्ताह व्यापी राष्ट्रिय कर दिवस समापन गरेको कर कार्यालयले चालु आर्थिक वर्षमा स्थानीय तहहरूसँग पनि जोडिएर सचेतना मूलक कार्यक्रमहरू गर्ने योजना रहेको कार्यालय प्रमुख एवं कर अधिकृत शर्माको भनाई छ । 

 

भिडिओ पनि हेर्नुहोस्