टिकटक बन्द गरेर सरकारले राम्रो गर्यो फेसबुक पनि बन्द गर्नु पर्छ–सांसद तामाङ (भिडिओ)

| मंसिर ८, २०८० शुक्रबार

A A A
A A A

०८ मंसिर, रामेछाप । संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै फेसबुक पनि बन्द गर्नु पर्ने बताएका छन् । शिक्षकहरूले राजनीति गर्न नहुने उनको भनाई छ । 

 

शुक्रवार सदरमुकाम मन्थलीमा राष्ट्रिय महिला आयोगले मन्थली माविमा विद्यालय स्तरमा हुने महिला हिंसा न्यूनिकरणका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै सांसद तामाङले भर्खरै सरकारले टिकटक बन्द गरेकोमा धन्यवाद व्यक्त गर्दै फेसबुक पनि बन्द गर्नु पर्छ भने । ‘सरकारले टिकटक बन्द गर्यो । म त भन्छु फेसबुक पनि बन्द गर्नु पर्छ’ नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका सांसद तामाङले थपे ‘डेढ करोड नेपालीले दिनमा ३ घण्टा फेसबुक हेरेर दिन कटाउँछन् । त्यो समयमा पढ्ने, अरू काम गर्ने हो भने के हुन्छ ।’

 

फेसबुकमा आउने नकारात्मक कुरामा मान्छेको समय खेर गएको भन्दै त्यो राम्रो नभएको धारणा राखे । उनले विद्यार्थीहरूलाई समेत फेसबुक नचलाउन आग्रह गर्दै पढ्नमा बढी ध्यान दिन आग्रह गरे । 

फरक प्रसङ्गमा बोल्दै सांसद तामाङले अहिले शिक्षकहरूले पनि राजनीति गरिरहेका ले शिक्षकले राजनीति गर्ने हैन भने । ‘शिक्षकले राजनीति गर्ने हैन ।’ अब आउन लागेको शिक्षा विधेयकमा पनि त्यो कुरालाई समेटिएको उनको दाबी छ । 

 

सांसद तामाङले शिक्षकहरूले अहिले पनि विद्यार्थीमाथि जबरजस्ती करणी लगायतका घटना घटी रहेको उल्लेख गर्दै त्यस्ता घटना प्रति सचेत हुनु पर्नेमा जोड् दिए । 

 

त्यस्तै मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले पनि सरकारले टिकटक बन्द गरेर राम्रो गरेको बताइन् । उपप्रमुख बस्नेतले टिकटमा छाडापन बढेर हेर्नै नसक्ने स्थितिमा पुगेको बेला सरकारले त्यो बन्द गर्नु प्रशंसनीय काम गरेको बताइन् ।

 

उपप्रमुख बस्नेतले विद्यालय सहित हाम्रो समाजमा विभिन्न खाले महिला हिंसा, लैङ्गिक हिंसाका घटना हुने भएकाले ती हिंसाको विरुद्ध सबैले आवाज उठाउनु पर्नेमा जोड् दिइन् । उनले विद्यार्थीहरूले आ-आफ्नो वरपर हुने हिंसाको विरुद्धमा बोल्नु पर्नेमा उनको जोड् छ । 

 

भिडिओ पनि हेर्नुहोस्