महासमिति सदस्य सहमतिमा टुङ्ग्याउन कांग्रेस रामेछापले लवश्री न्यौपानेको संयोजकत्वमा ५ सदस्य समिति गठन गर्‍यो

| मंसिर १०, २०८० आइतबार

लवश्री न्यौपाने
A A A
A A A

१० मंसिर, रामेछाप । नेपाली कांग्रेस रामेछापले महासमिति सदस्य सहमतिमा टुङ्ग्याउन निवर्तमान पार्टी जिल्ला सभापति लवश्री न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको छ । 

 

शनिवार बिपी स्मृति भवन मन्थलीमा बसेको जिल्ला कार्यसमिति बैठकले निवर्तमान पार्टी सभापति एवं रामेछाप नगरपालिका प्रमुख समेत रहेका न्यौपानेको संयोजकत्वमा पाँच सदस्य समिति गठन गरेको पार्टी सचिव दीपक खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘५ सदस्यीय समिति गठन गरिएको छ । यो समितिले सहमतिमा सदस्य टुङ्ग्याउन प्रयास गर्ने छ । सहमतिमा नभएमा निर्वाचन गर्ने निर्णय भएको छ ।’

 

जिल्ला पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) को अध्यक्षतामा बसेको बैठकले न्यौपानेको संयोजकत्वमा नेता कृष्ण महत, जिल्ला समन्वय समिति प्रमुख एवं पार्टी नेतृ चिना खड्का (कार्की र दुई वटा प्रदेश क्षेत्रीय सभापतिहरू निरोज खड्का (१) र राजेश कुमार श्रेष्ठ (२) सदस्य रहने गरी समिति गठन गरिएको सचिव खड्काले रामेछाप टाइम्सलाई बताएका हुन् । 

 

उनका अनुसार यो समितिलाई यही मंसिरको १७ गते सम्म महासमिति सदस्य टुङ्गो लगाउनको लागि सहमतिको प्रयास गर्ने छ । यदि त्यसो नभएमा २३ गते निर्वाचन हुने छ । 

 

पछिल्लो १४ औँ महाधिवेशनपछि हुने पर्ने महासमिति निर्वाचनमा उम्मेदवार बनेकाहरू उपसभापति बेदराज लामा सहित नेता गजेन्द्र कार्की, झनक लामा लगायतका नेताहरूले आफूहरूलाई मतगणनामा धाँधली गरेर आफूहरूलाई हराएको भन्दै उजुरी गरेका थिए । उनीहरूले मत पुनः गणना समेत हुनु पर्ने माग गरेका थिए ।

 

त्यसैको मुद्दाको किनारा नलाग्दा लामो समयदेखि हुन नसकेको महासमिति सदस्य केन्द्रीय निर्वाचन समितिले टुङ्गो लगाएपछि महासमिति सदस्य हुन लागेको हो । 

 

केन्द्रीय कार्यसमितिले ती सदस्यहरूले केन्द्रीय निर्वाचनमा भाग लिएको, र प्रदेशको नेतृत्व समेत छानेकाले पुनः मतगणना गर्न नसकिने भनी टुङ्गो लगाएको सचिव खड्काले जानकारी दिए । 

 

 

लामो समयपछि बसेको पार्टीको बैठकले अन्य सांगाठानीक विषयमा गम्भीर छलफल गरेको बताइएको छ ।