रामेछाप नगरपालिकामा सर्वदलीय बैठक : बसपार्क, ‘रिङ रोड’ र हाट बजारलाई व्यवस्थित बनाउने महत्पूर्ण निर्णय

| मंसिर १२, २०८० मंगलबार

A A A
A A A

१२ मंसिर, रामेछाप । रामेछाप नगरपालिकाले नगरपालिकालाई सुन्दर, समृद्ध र व्यवस्थित  नगर बनाउन सर्वदलीय बैठक राखेर  सुझाव लिएको छ । यसरी प्राप्त सुझावहरूलाई नगरले चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने गरी छलफल भएको र त्यसै अनुसार अगाडि बढाउने नगरको भनाई छ । 

 

सोमबार नगरपालिका भित्र प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको उपस्थितिमा नगरपालिका प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा बसेको बैठकले विशेष गरी बजार क्षेत्रमा ‘रिङ रोड’, स्थानीय हाट बजार र बस पार्क निर्माण गर्ने विषमा छलफल तथा निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले रामेछाप टाइम्सलाई बताए । ‘एजेण्डा नै तय गरेर छलफल भएको हो, यहाँ प्रतिनिधित्व गर्ने दलहरूले सुझाव राख्नु भयो ।’

 

प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार बैठकले सांघुटार र रामेछाप डाँडामा साप्ताहिक रूपमा लाग्दै आएका हाटलाई थप व्यवस्थित गर्ने निर्णय गरेको हो । कतिपय नेताहरूले स्थानीय  हाट बजारलाई नयाँ ठाउँमा पनि विस्तार गर्नु  (थप्नु) पर्ने धारणा राखेको तर उपयुक्त स्थान तत्काल नरहेको निष्कर्ष पछि पुरानालाई व्यवस्थित बनाएर लाने सहमति गरिएको हो । 

रामेछाप बजार तस्बिर फाइल 

नगरपालिकाले स्थानीय हाट बजारलाई व्यवस्थित गर्न चालु आर्थिक वर्षमा २५ लाख बजेट नै विनियोजन गरेको छ । जसबाट अहिले साप्ताहिक हाट लाग्ने क्षेत्रमा शौचालय निर्माण भइरहेका छन् । 

 

नेताहरूले रामेछाप बजार जिल्लाको इतिहास बोकेको भूमि रहेको भन्दै यसको बजारीकरण ‘रिङ रोड्’ को अवधारणा आधारित भएर बजारीकरण हुनु पर्नेमा जोड् दिएका थिए । सोही अनुसार बजारीकरण एवं बस्ती विकास, विस्तार गर्नु पर्ने सहमति भएको प्रमुख प्रशासकीय घिमिरेले बताए । अहिले हाट लाग्दै आएको रामेछाप बजार नजिकैबाट रातमाटे डाँडा–पुष्पलाल पार्कमुनिबाट लामा गाउँ–पाले वन– हुँदै कारागार तर्फ जोडेर रिङ रोड जोड्ने पनि सहमति भएको प्रशासकीय प्रमुखले रामेछाप टाइम्सलाई बताए । 

प्रमुख प्रशासकीय अधिकृत, मित्र प्रसाद घिमिरे 

बस पार्क पनि बनाउने 

सर्वदलीय बैठकले हाल नगरमा यातायात पार्किङ क्षेत्र (बसपार्क) को आवश्यकता परेको निष्कर्ष सहित वडा नं ८ रामेछाप डाँडादेखि ७ नम्बरको भालुखोप आसपास क्षेत्रलाई आधार मानेर बस पार्क बनाउने पनि निर्णय गरेको छ । ‘ठ्याकै ठाउँ तोकिएको छैन । ८ देखि ७ जहाँ जग्गा उपलब्ध हुन्छ, त्यो क्षेत्रमा बसपार्क बनाउने निर्णय भएको हो,’ प्रमुख प्रशासकीय अधिकृत घिमिरे ।

 

त्यसको लागि ८ नं को भँगेरी सामुदायिक भवन, पाल्रे वन लगायतको स्थान सम्भावित रहेको उनको भनाई छ । 

 

सर्वदलीय बैठकले गरेका निर्णयहरू माथि नगर विकास समितिको बैठक बसेर थप छलफल गर्ने र त्यसपछि कार्यान्वयन हुने प्रशासकीय प्रमुख घिमिरेले प्रस्ट पारे । 

 

यसैबिच बैठकले महत्पूर्ण निर्णयहरु गरेकोमा नगरलाई धन्यवाद दिँदै नेकपा एमाले  रामेछाप नगरका युवा नेता सुन्दर घिमिरेले एमाले हरेक विकास निर्माण कार्यमा हातेमालो गर्ने धराणा राखे । उनले नगरको दिगो विकासमा प्रतिबद्ध रहेको भन्दै सकरात्कम विकासलाई आफूहरुको सहयोग रहने उनको भनाई छ ।