वडालाई ‘चिनाउन’ उमाकुण्ड गाउँपालिकाले चौथो राष्ट्रपति रनिङ शिल्ड वडा नं १ गुम्देलमा गर्दै

| मंसिर १३, २०८० बुधबार

A A A
A A A

१३ मंसिर, रामेछाप । स्थानीय पाठ्यक्रम निर्माणमा जुटिरहेको रामेछापको उमाकुण्ड गाउँपालिकाले चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नं १ गुम्देलमा गर्ने भएको छ । जिल्लाकै दुर्गम क्षेत्रबाट परिचित गुम्देलमा पालिका स्तरीय यो कार्यक्रम हुन लागेको हो । पछिल्लो समय बजारीकरण र विकासको बाटो तर्फ अग्रसर गुम्देल पनि पहिलो पालिका स्तरीय कार्यक्रम राष्ट्रपति रनिङ शिल्डलाई भव्य सफल पार्न जुटेको छ । विगतका तेस्रो राष्ट्रपति रनिङिल्ड पालिकाकै केन्द्र प्रितीमा भएका थिए । 

 

हाल वडा पनि पालिकाको सहयोगमा खेल मैदान धमाधम तयार पार्न लागि परेको वडाले जनाएको छ । रनिङ शिल्ड त्यहाँ हुने निर्णय लगत्तै एउटा जेसीबीले खेल मैदान चौडा, फराकिलो, सम्याउने लगायतको काम धमाधम गर्दैछ । खेल १ नं को वडा कार्यालय परिसर र उमातिर्थि युवा क्लबको मैदान बसपार्कमा हुने छ । 

 

पालिकाको केन्द्रमा गत ६ गते बसेको शिक्षा, युवा तथा खेलकुद समितिको आयोजनामा सातै वडाका अध्यक्ष, पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहितको बैठकले गुम्देलमा चौथो राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्ने निर्णय गरेको हो । पालिका भित्रका ७ वटा माविका ७२० जना भन्दा बढी विद्यार्थी खेलाडीहरूलाई सहज वातावरणमा खेल खेलाउन सरोकारवाला जुटेका हुन् । खेल उद्घाटनमा करिब एक हजारको उपस्थिति हुने आङ्कलन गरिएको छ । 

 

पालिकाले चालु आर्थिक वर्षमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनको लागि कूल १८ लाख बजे विनियोजन गरेको छ । यो बजेट खेलमा सहभागी हुने प्रत्येक विद्यालयलाई खाना, बास, खेलाडीलाई पौष्टिक आहारा, खेलाडीलाई जर्सी लगायत व्यवस्थापनको लागि १ लाख २० हजारको दरले दिने पालिकाको तयारी छ । त्यस्तै खेल स्थल सम्म विद्यार्थी पुराउनको लागि भन्दै यातायात खर्च पनि आवश्यकता हेरेर ६० हजार सम्म छुट्टै दिने आयोजक शिक्षा, युवा तथा खेलकुद शाखाका ङावा शेर्पाले रामेछाप टाइम्सलाई बताए ।

गुम्देल तस्बिर फाइल

बाँकी बजेट पुरस्कार, कार्यक्रम आयोजना, व्यवस्थापन लगायतमा खर्च हुने छ । चौथो राष्ट्रपति रनिङ शिल्ड आउँदो पुस १, २ र ३ गते गर्ने निर्णय गरेको पालिकाले आगामी वर्षहरूका रनिङ शिल्डहरु पनि सबै वडामा पुर्‍याउने समेत योजना रहेको पालिकाले जनाएको छ । 

 

गुम्देलमा पालिका स्तरीय खेल हुने भनेको गुम्देललाई सातै वडाका विद्यार्थी, शिक्षक, वडा अध्यक्षहरू माझ चिनाउनू, आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नू रहेको गुम्देलका स्थानीय समेत रहेका शिक्षा शाखाका शेर्पाको भनाई छ । यो कार्यक्रमलाई सफल बनाउन त्यहाँ स्थानीय, राजनीतिक दल, अगुवा, होटेल व्यवसायी सबै लागि परेको आफूहरूले पाएको शेर्पाले बताए । 

 

हामी स्थानीय पाठ्यक्रम तयार पार्न लागि परेका छौँ, सबै वडाका विद्यार्थी यहाँ पुग्दा त्यहाँको जानकारी पनि हुन्छ त्यसैले वडा स्तरमा कार्यक्रम गर्न पालिका सकारात्मक छ, खर्च बालबालिका र विद्यार्थीमा लगानी नगरे सम्म शिक्षामा सुधार हुँदैन त्यसैले त्यसमा ‘कम्परमाइज’ हुँदैन, शेर्पा ।