बेतालीका वडा अध्यक्ष बस्नेत भन्छन् ‘वडा र बैंकको समन्वयमा टोल-टोलमै पुगेर भत्ता बाँडेका छौँ, बाँदरले हैरान पार्यो’
१३ मंसिर, रामेछाप । जिल्लाका विभिन्न स्थानीय तहमा राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या छ । पहिले घर घरै सामाजिक भत्ता बुझ्दै आएका अशक्त, अपाङ्गता –फरक क्षमता भएका), एकल महिला, वृद्धवृद्धाहरु बैङ्किङ प्रणाली मार्फत भत्ता वितरण हुन थालेपछि उनीहरूलाई पाडा थपिएको छ ।
भत्ता बुझ्नकै लागि एक दिनको बाटो हिँड्नु पर्ने, बैङ्कमा लामो लाइन बस्नु पर्ने, कागजात नमिलेको भन्दै बैंकबाट रित्तो हाट फर्किनु पर्ने सम्मको झमेलामा उनीहरू छन् । यस्तो समस्या जिल्लाका धेरै स्थानीय तहमा छ । वडा स्तरमा बैङ्क नहुनु र भत्ता लिन दिनै माया मारेर सकी नसकी धाउनु पर्ने बाध्यता हुँदा भत्ता बुझ्नलाई थप कष्टकर छ ।
कतिपय स्थानीय तहलाई यसको समाधान गर्नु टाउको दुखाइनै बनेको छ ।
तर, गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीमा भने वडा र बैंकको समन्वय हुँदा भत्ता वितरण निकै सहज भएको छ । जसको प्रत्यक्ष लाभमा भत्ता बुझ्दै आएकाहरू परेका छन् । वडा अध्यक्ष रामचन्द्र बस्नेतले निर्वाचित भए लगत्तै पहिलो बैठकमै भत्ता बैङ्क र वडाले साबिकको वडालाई आधार मानेर १ वडा १ दिन भत्ता वितरण गर्ने निर्णय गरेपछि भत्ता बुझ्नेहरू झण्जटबाट मुक्त बनेका हुन् । वडा अध्यक्ष बस्नेतले रामेछाप टाइम्ससंगको कुराकानीमा भने ‘मैले पहिले नै साबिकको वडालाई हेरेर वितरण गर्ने भने ।
एक बिहान ११ बजे सम्म त्यहीँ पुगेर वितरण गर्छौँ, उहाँहरू पनि खुसी बैङ्कमा पनि भिडभाड हुँदैन । वितरणमा कुनै समस्या छैन, अध्यक्ष बस्नेतले थपे ‘हामीलाई असहज लागेको ठाउँमा सुरक्षाको टोली सहित जान्छौँ ।’
सिद्धार्थ बैङ्क मार्फत त्यहाँ कुल ६ सय ८५ जनाले भत्ता बुझ्दै आएका छन् ।
नेपाली काँग्रेसबाट निर्वाचित भएका अध्यक्ष बस्नेतले चालु आर्थिक वर्षमा आफ्नो वडामा कुल १ करोड २४ लाख बजेट रहेको जानकारी दिँदै अहिले धमाधम उपभोक्ता समिति गठन गरिरहेको सुनाए ।
एक घर एक खानेपानीको धारा अनुसार गत वर्षदेखि नै काम गरेकाले ८० देखि ८५ प्रतिशत वडा बासीमा शुद्ध खानेपानीको पहुँचमा पुगेको उनको दाबी छ । त्यस्तै १५ शय्याको अस्पताल निर्माणाधीन रहेकाले सामान्य स्वास्थ्य उपचारको लागि वडा बासी अन्त धाउन नपर्ने सुनाए ।
यो वर्ष सडक निर्माणमा विशेष काम गर्ने सुनाउँदै त्यसै अनुसार योजना कार्यान्वयनको चरणमा रहेको बताए ।
बाँदरले हैरान बनायो
वडा अध्यक्ष बस्नेतले वडामा बाँदरले हैरान बनाउँदा कृषि उत्पादन हुन छोडेको र बाँझो बारी बढ्दै गएको सुनाउँछन् । जे बाली लगाए पनि बाँदरले नष्ट पार्दा किसानहरूले बाली लगाउनै छाडेको बताउँदै बाँदरबाट पालिकाबासीनै पीडित बनेको सुनाए ।
‘हामी मात्रै हैन बाँदरले सबैलाई हैरान पारेको छ । मान्छेले बाली लाउनै छोडी सके, एउटा बाली लगायो भने रुङेर बस्नु पर्ने अवस्था छ । नत्र जोगाउन सकिँदैन । त्यसैले कृषि उत्पादन गर्न बाँदरको नियन्त्रण र व्यवस्थापन बिना सकिँदै । हामी २२ गते कार्यपालिका बैठक बसेर यसबारेमा थप निर्णय गर्दै छौँ’, अध्यक्ष बस्नेत ।
बाँदरले हैरान पारेपछि बाँदर नियन्त्रण गर्नु अहिलेको प्रमुख चुनौती बनेको सुनाउँदै बाँदरलाई समातेर चिडियाखाना तिर पाउने बारेमा चर्चा, बहस हुन थालेको समेत सुनाए । उनले बाँदर मार्न पनि नपाइने हुँदा समातेर अन्त्र पठाउनु नै यसको उचित व्यवस्थापन हुने आफूहरूले छलफल गरिरहेको उनको भनाई छ ।