बाम्तिभण्डारमा संचालित समृद्धि साकोषको ७ औँ वार्षिक साधारण सभा नयाँ संचालक समिति गठन गर्दै सकियो

| मंसिर १७, २०८० आइतबार

A A A
A A A

१७ मंसिर, रामेछाप । रामेछापको बाम्तिभण्डारमा संचालित समृद्धि बचत तथा ऋण सहकारी संस्था (साकोस) को सातौँ साधारण सभा नयाँ कार्यसमिति गठन गर्दै समापन भएको छ । यो साधारण सभाले शिवबहादुर बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति गठन गरेको हो ।

 

उमाकुण्ड गाउँपालिका २ नम्बर बाम्तिभण्डारमा कार्यालय र १ नम्बर गुम्देल, ३ कुँबुँकाँस्थली र ४ नं प्रितीमा सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको उक्त सहकारीले शनिवार बाम्तिभण्डारमा एक कार्यक्रम गर्दै साधारण सभा सम्पन्न गरेको रामेछाप टाइम्सका संवाददाता एवं सोही ठाउँका स्थानीय जीवन घातनेले बताए । 

 

सोही वडाका वडा अध्यक्ष खम्बध्वज बस्नेत (छुकु‌) सहितको उपस्थितिमा भएको उक्त साधारण सभाले सहकारीको वित्तीय विवरण समेत पारित गरेको छ । 

साकोषको नयाँ संचालक समितिको अध्यक्षमा शिवबहादुर बस्नेत सर्व सहमतिमा निर्वाचित भएका हुन् । बस्नेतको अध्यक्षमा निर्वाचित भएसँगै उपाध्यक्षमा गृहबहादुर बस्नेत, सचिवमा जीवन आफै चयन भएका छन् । भने, कोषाध्यक्षमा लक्ष्मी बस्नेतले जिम्मेवारी पाएकी छन् । 

 

छौङवा शेर्पा, आङपासाङ शेर्पा, हिरणकुमार श्रेष्ठ, शिबबाहदुर बस्नेत, कुसार्ङ डोमा शेर्पा, ईश्वरी बस्नेत र गणेश बहादुर कार्की सदस्यमा सर्व सहमतिमा चयन भएका छन् । 

त्यस्तै गजेन्द्र बहादुर बस्नेतको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि गठन गरिएको सचिव जीवनले जानकारी गराए । सदस्यहरूमा जगत बहादुर कार्की र मन्दिरा खड्का चुनिएका छन् । 

 

हाल सम्म ३ हजार ४ सय ४९ जना शेयर सदस्य रहेको उक्त सहकारीको ४ बर्से कार्यकालको लागि उनीहरू चुनिएका हुन् । 

 

जिल्ला सदरमुकाम मन्थलीबाट भोगौली रूपमा निकै पर रहेको यस सहकारीले किसान र व्यवसायीहरूलाई आर्थिक पाटोमा जोड्दै अगाडि बढी रहेको सहकारीका प्रमुख दीपक कार्कीले बताए । साधारण सभाको अवसरमा केही शेयर सदस्यहरुलाई साकोषले सम्मान समेत गरेको छ । 

तस्बिर सबै जीवन घताने ।