एमाले अध्यक्ष ओली सोमबार रामेछापको मन्थली आउने

१९ मंसिर, रामेछाप । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रामेछापको मन्थली आउने भएका छन् । ओली मन्थली आउने भएसँगै नेकपा एमाले जिल्ला कमिटी रामेछापले तयारी तीव्र पारेको छ ।
पार्टीको महाकाली–मेची अभियान अन्तर्गत पूर्व प्रधानमन्त्री ओली रामेछाप आउने कार्यक्रम तयारी भएको एमाले जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । ‘२५ गते आएर मन्थलीमै बस्नु हुन्छ । हामी थप के–के गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दैछौं’ अध्यक्ष श्रेष्ठले थपे ‘अध्यक्षको यो कार्यक्रमलाई प्रभावकारी बनाउने योजनामा छलफल भइरहेकै छ ।’
अध्यक्ष ओली सहितको टोली यही २५ गते सोमबार काभ्रेको धुलिखेलबाट दोलखाको चरिकोट हुँदै मन्थली आउने कार्य तालिका छ । सोही अनुसार २५ गते अपराह्न तीनलाल पार्कमा कार्यक्रम तय गरिएको श्रेष्ठले जानकारी दिए ।
एमाले जिल्ला कमिटीले सोही तयारी छलफल मङ्गलवार आजै गरेको छ । ओलीको आगमनको साँझ नेताहरूको जिल्ला पार्टी कार्यकर्ताको घरमै बासको व्यवस्थापन गरिएको छ । यस अगाडि ओली तत्कालीन गृह मन्त्री हुँदा मदन आश्रितको शालिक अनावरण गर्न सहित दोस्रो पटक मन्थली आएका थिए ।