उमाकुण्डमा चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरीले जित्यो, भलिबलमा गुम्देल उत्कृष्ट

५ चौं रनिङ शिल्ड २ बाम्तिभण्डारमा हुने

| पुस ५, २०८० बिहिबार

A A A
A A A

५ पुस, रामेछाप । उमाकुण्डमा चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि वडा नं ४ स्थित चण्डेश्वरी माविले जितेको छ । गएको पुस १ गतेदेखि वडा नं १ गुम्देलको खेल मैदानमा ३ गते सम्म भएको पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि दोस्रो पटक जित्दै चण्डेश्वरी शिल्ड उचालेको छ ।

उमाकुण्ड खेलकुद विकास समितिका अध्यक्ष सुदीप सुनुवारको अध्यक्षता तथा पालिका अध्यक्ष शेरबहादुर सुनुवारको प्रमुख आतिथ्यतामा भएको सो प्रतियोगितामा पालिकाका ७ वटा माविका विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।

 

जसमा चण्डेश्वरी माविले ५ स्वर्ण, ६ रजत र ६ कास्य पदक जित्दै उपाधि जितेको हो । भने, ५ स्वर्ण, ५ रजत र ६ कास्य सहित कैलेश्वर मावि गुप्तेस्वर ६ दोस्रो भएको छ । त्यस्तै ५ स्वर्ण, ५ रजत र ४ कास्य पदक जित्दै वडा नं २ स्थित बाम्तिभण्डार तेस्रो भएको छ । 

 

त्यस्तै भलिबल तर्फ उत्कृष्ट खेलाडी समेत आफ्नो पक्षमा पर्न सफल हुँदै वडा नं १ गुम्देल स्थित महालङ्गुर माद्यामिक विद्यालय ५ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्तै चौथो भएको छ । महालङ्गुरले भलिबल तर्फ बाम्ति र चण्डेश्वरी दुबैलाई हराएको थियो । तर, छात्रा र छात्र दुवै तर्फ कबड्डीमा पछि पर्दा उपाधि जित्न भने चुक्यो । छात्रा तर्फ कबड्डीमा महालङ्गुरले दोस्रो स्थान हासिल गर्‍यो भने छात्र तर्फ पराजित हुन पुग्यो । 

भलिबल तर्फ महालङ्गुर माविका उत्कृष्ठ खेलाडी दावा तामालाई ट्रफि हस्तान्तरण गर्दै पालिका अध्यक्ष सुनुवार

कूल २६ स्वर्ण पदको लागि पालिकाका सबै माविका छात्रा, छात्रले गरेको उत्कृष्ट प्रतिस्पर्धाबाट खेलाडीहरूले पदक हात पारेका हुन् । विजेता खेलाडीहरूलाई पालिका अध्यक्ष सुनुवारले उपाध्यक्ष सावित्री सुनुवारसहितको उपस्थितिमा पुरस्कार रकम, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरे । 

 

पालिका खेलकुद विकास समितिले ७ वटै वडामा प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले रनिङ शिल्ड २०८०  वडा नं १ मा पहिलो पटक गराएको थियो । जस अनुसार पालिकाका सबै वडाका माविका शिक्षक, शिक्षीक, विद्यार्थी/खेलाडी, पालिकाका कर्मचारी, जनप्रतिनिधि, वडा अध्यक्ष सहित स्थानीयहरूले तीनै दिन खेलको मनोरञ्जन लिए ।  

त्यस्तै पालिकाका कर्मचारी र शिक्षकहरूले समेत मैत्री पूर्ण भलिबल खेलेका थिए । भने, सबै विद्यालय मार्च पास, सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरे । 

 

रनिङ शिल्डमा भाग लिन सबै विद्यालयहरूलाई प्रति विद्यालय एक लाख २० हजारको दरले नगद र गाडी भाडा छुट्टै गरी १ लाख ६० हजार बढी पालिकाले सहयोग गरेको थियो । रनिङ शिल्डमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयलाई नगद पुरस्कार क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गरिएको थियो । 

 

त्यस्तै उत्कृष्ट खेलाडीलाई समेत ट्रफि सहित नगद पुरस्कार प्रदान गरिएको थियो । गत वर्ष वडा नं ४ प्रितीमा गरेको रनिङ शिल्ड यो वर्ष पालिकाले १ मा सम्पन्न गर्‍यो भने आगामी वर्ष अर्थात् ५ चौ पालिका स्तरीय रनिङ शिल्ड वडा नं २ बाम्तिभण्डारमा गर्नको लागि पालिका अध्यक्षले झण्डा समेत वडा नं २ स्थित सिद्देश्वर माविलाई प्रदान गरे । 

 

साथै यही पुसको २१ गतेदेखि उमाकुण्ड गाउँपालिका वडा नं ४ प्रिती खेल मैदानमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै छ । पालिका शिक्षा, युवा तथा खेलकुद विकास समितिले जिल्ला स्तरीय रनिङ शिल्डको तयारी समेत अगाडि बढाएको शिक्षा, युवा तथा खेलकुद विकास समितिका प्रमुख ङावा शेर्पाले रामेछाप टाइम्सलाई बताए ।