बालमैत्री स्थानीय तह घोषणा : सवारी साधन र गाउँ–टोलमा ‘स्टिकर’ टाँस्दै मन्थली नगरपालिका

| पुस ५, २०८० बिहिबार

A A A
A A A

५ पुस,रामेछाप । ‘बालमैत्री स्थानीय तह घोषणा’ गर्न जुटेको जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले सवारी साधन र टोल टोलमा पुगेर बाल ‘श्रम सम्बन्धित स्टिकर’ टाँसेको छ । बालबालिकालाई श्रम मुक्त गर्ने जनचेतना फैलाउने उद्देश्यले स्टिकर टाँसिएको नगरको महिला तथा बालबालिका शाखाको भनाई छ । 

 

१४ वटा वडा रहेको सो नगरपालिकाले वडामा कम्प्युटर अपरेटर एवं सहजकर्ताको रूपमा कार्यरत कर्मचारी सहित नगरको टोली समेत खटिएर जिल्लाका विभिन्न स्थानमा चल्दै आएका सवारी साधनामा १८ वर्ष भन्दा मुनिका बालबालिकालाई काममा नलगाउन सचेत गर्दै लेखिएका पोस्टरहरू टाँसेको हो । ‘हामी सबै ठाउँमा यो सचेतना फैलाउन लागेका हौँ, गाउँ, टोल, सवारी साधना सबैमा टाँस्छौँ,’ महिला,बालबालिका तथा सामाजिक परिचालन उपशाखा प्रमुख भगवती तामाङ । 

 

‘बालबालिकामा गरेको लगानी, ल्याउँछ सुनौलो बिहानी’ भन्ने मूल नारा सहित २०८१ जेठ मसान्त सम्म बाल मैत्री स्थानीय तह घोषणा गर्ने प्रतिबद्धता सहित बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको मन्थली नगरले अहिले बालबालिकालाई सचेत गराउने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने, बाल श्रम, बाल शोषण, यौन हिंसा, सचेतना, बाल विवाह, लैङ्गिक हिंसा जस्ता विविध पक्षमा सचेतना मूलक कार्यक्रम टोल–टोलमा बाल समूह, वडा सञ्जाल र नगर बाल सञ्जाल गठन गरी सचेतना गर्दै आएको छ । 

 

वडा तहमा रहेका कर्मचारीहरूले बालबालिकालाई सचेत गराउने कार्य दूर्त गतिमा गर्दै आएको वडा नं १२ की वडा कम्प्युटर अपरेटर एवं वडा बाल सहजकर्ता लक्की शंकर (घिमिरे) ले बताइन् । ‘अहिले धमाधम ‘स्टिकर’ टाँस्ने काम जारी छ, यसपछि ‘वडा अध्यक्षसँग बालबालिका कार्यक्रम, सचेतनाका विभिन्न कार्यक्रमहरू बालबालिकाको सक्रिय सहभागितामा हुँदै छ।’

 

उनका अनुसार पसल, विद्यालय सहित सार्वजनिक स्थलहरु सबै ठाउँमा स्टिकर टाँसिने छ ।