गोकुलगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड जारी, ३० स्वर्णको लागि ७ मावि प्रतिस्पर्धा गर्दै

| पुस ८, २०८० आइतबार

A A A
A A A

८ पुस, रामेछाप । गोकुलगंगा गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजना तथा शारदा मावि ठोसेको व्यवस्थापनमा वडा नं २ ठोसे स्थित शारदा माविमा ३० स्वर्णको लागि तीन दिने प्रतियोगिता सुरु भएको हो । 

 

शनिवार पालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले उपाध्यक्ष उषादेवी कार्की सहित ६ वटै वडाका वडा अध्यक्षहरूको उपस्थितिमा रनिङ शिल्ड उद्घाटन गरेका हुन् ।रनिङ शिल्ड उद्घाटन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष दिनेशले खेलकुदको विकासले समग्र गाउँपालिकाको विकासलाई जिल्ला, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तर सम्म चिनाउन सहयोग पुग्ने भन्दै खेलकुद क्षेत्रलाई सबैले सहयोग गर्नु पर्नेमा जोड दिए । 

 

त्यस्तै फरक प्रसङ्गमा पालिका अध्यक्ष खड्काले रनिङ शिल्ड यो वर्षदेखि वडा स्तरमा क्रमैसँग आयोजना गरिने घोषणा गरे । उनले यो वर्ष वडा २ नम्बरमा गरिइएको दोहोर्‍याउँदै आगामी वर्ष ३ मा खेलाइने बताए । 

३ दिन सम्म चल्ने प्रतियोगितामा पालिका भित्रका छात्रा, छात्रले दौड, हाइ जम्प, लङ जम्प, त्रिपल जम्प, ज्याबलिङ थ्रो, सटफुट, भलिबल, कबड्डी लगायतका खेलमा प्रतिस्पर्धा गर्ने पालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्र सिंह भण्डारीले बताए ।