काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति श्रेष्ठको हृदय घातबाट निधन

| पुस १०, २०८० बुधबार

A A A
A A A

११ पुस, रामेछाप । नेपाली काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको असमाहिक निधन भएको छ । उनको गए राति अबेर निधन भएको हो । 

 

खाँडादेवी गाउँपालिका पकरबास घर भएका नेता श्रेष्ठ काठमाडौँ बस्दै आएका थिए । नेपाल विद्यार्थी संघ (नेविसंघ) देखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रूपमा लागि पार्टीलाई जनताको सेवा, विकास निर्माण र अवस्था परिवर्तनमा लाग्न प्रेरित गर्दै आएका सभापति श्रेष्ठ विभिन्न सामाजिक तथा व्यवसायीक क्षेत्रमा समेत क्रियाशील थिए । 

 

नेपाली काँग्रेसलाई युवाको हातमा दिनु पर्ने र जनताको समस्या समाधान गर्न सक्ने पार्टी बनाउनु पर्नेमा जोड् दिँदै पार्टीलाई ‘गुट–उपगुट’ मुक्त बनाइ सिङ्गो, एकढिक्क बनाउनु पर्नेमा दृढ धारणा राख्दै आएका पार्टी जिल्ला कार्य समिति सदस्य समेत रहेका श्रेष्ठको ५० वर्षको उमेरमा हृदय घातबाट ज्यान गएको उनको पारिवारिक स्रोतले रामेछाप टाइम्सलाई बताएको हो । 

 

सम्पर्क समितिलाई चलायमान र सक्रिय बनाउँदै आएका स्वः श्रेष्ठको शव अहिले किस्ट अस्पतालमै रहेको र भोलि बिहीबार अर्थात् पौष १२ गते पशुपतिमा अन्तिम दहासंस्कर गरिने तय भएको छ । 

 

यसैबिच नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले श्रेष्ठको निधन प्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवार धैर्य धारण गर्ने शक्ति मिलोस् भनी सोक् व्यक्त गरेको छ । ‘सामाजिक अभियन्ता, सम्पर्क समितिका सभापतिको असामयिक निधन भएको खबरले अत्यन्त मर्माहत भएका छौ । यस दुःखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धाराण गर्न सक्ने क्षमता श्री भगवान् पशुपतिनाथले प्रदान गरुन् यही गहिरो संवेदना व्यक्त गर्दछौँ ।’ नेपाली काँग्रेसले भनेको छ ।