क्रान्तिकारी विद्यार्थी कमिटीको माग–मन्थली–काठमाडौँ चल्ने इभी गाडीको भाडा ४ सय बनाऊ, माग पुरा नभए सडक आन्दोलन

११ पुस, रामेछाप । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मन्थली क्याम्पस कमिटी रामेछापले इलेक्ट्रिक गाडीको भाडा घटाउन माग गरेको छ । आफ्ना माग सम्बोधन नभएमा क्रान्तिकारीले सडक आन्दोलन सहित अनशन बस्ने सम्मको चेतावनी समेत दिएको छ ।
बुधवार आज क्रान्तिकारी विद्यार्थीको समूहले रामेछाप प्रशासन पुगेर प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अनिता निरौलालाई माग पत्र बुझाउँदै सञ्चालनमा रहेका इलेक्ट्रिक गाडी (इभी) को भाडा दर पनि अन्य सवारी (डिजेल गाडी) सरह नै रहेकोमा असन्तुष्ट जनाउँदै उक्त भाडा दर घटाउनु पर्ने माग गरेको क्रान्तिकारी रामेछापका सचिव सफल दाहालले रामेछाप टाइम्सलाई जानकारी दिए ।
क्रान्तिकारी कमिटीले (प्रजिअ) निरौलालाई बुझाएको माग पत्रमा ‘सञ्चालनमा आएका इलेकट्रोनिक (इभी) ले पनि पेट्रोलियम गाडीको जस्तै गरी भाडा उठाउने गरेको पाइएको छ ।’
उसले मन्थली–काठमाडौँ चल्ने इभीको भाडा ४ सय कायम गर्नु पर्ने र विद्यार्थीलाई कार्डका आधारमा थप ४५ प्रतिशत छुट दिनु पर्ने जोडदार माग रहेको उल्लेख गर्दै भनेको छ ‘माग पुरा नभएको खण्डमा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने, सडक आन्दोलन गर्ने, अनशन बस्ने जस्ता कार्यक्रमहरू हामी अगाडि बढाउँछौँ’ भनेको छ ।
माग पत्र हेर्नुहोस्