हृदय घातबाट ज्यान गुमाएका काँग्रेस नेता श्रेष्ठको पशुपतिमा अन्त्येष्टि

| पुस १२, २०८० बिहिबार

A A A
A A A

१२ पुस, रामेछाप । गत मंगलबार राति हृदय घातबाट ज्यान गुमाएका नेपाली काँग्रेस रामेछापका नेता राजनारायण श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बिहीबार (आज) पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री द्वय गगन थापा, विश्व प्रकाश शर्मा, काँग्रेस जिल्ला पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) सहित सयौँ नेता कार्यकर्ता, आफ्नती जन र पारिवारिक सदस्यहरूको उपस्थितिमा हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

 

स्वर्गीय श्रेष्ठको शवमा पार्टीको झन्डा ओढाएर काँग्रेस सभापति देउवा सहित महा मन्त्रीहरूले श्रद्धाञ्जली व्यक्त गरे । साथै नेपाली कांग्रेस, नेकपा एामले, नेकपा माओवादी केन्द्र, नेकपा एककीकृत समाजवादी लगाएत पार्टीका नेता कार्यकर्ताहरू, सांसद, केन्द्रीय सदस्यसहितले पुष्प गुच्छ अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली दिएका छन् । ५० वर्षीय खाँडादेवी गाउँपालिका पकरबास घर भएका श्रेष्ठ लामो समयदेखि परिवार सहित काठमाडौँमा व्यवसाय सञ्चालन गरी बसोबास गर्दै आएका थिए । 

पार्टीलाई गुट उपगुटको अन्त्य गर्दै एक ढिक्का बनाएर लानु आजको आवश्यकता रहेकोमा जोड् दिने स्वर्गीय श्रेष्ठ गत स्थानीय तहमा काँग्रेसबाट वडा अध्यक्षको उम्मेदवार समेत बनेका थिए । तर, निर्वाचित हुन भने सकेनन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) देखिनै काँग्रेसको राजनीतिमा आबद्ध श्रेष्ठ पार्टीको रामेछाप काठमाडौँ सम्पर्क समितिको सभापति थिए । २०५६/५७ देखि नै होटेल व्यवसायमा लागेका सामाजिक अभियन्ता भन्न रुचाउने श्रेष्ठ हाल फास्ट फुड एसोसिएसन नेपालको पूर्व महासचिव एवं हालका सल्लाहकार समेत रहेका थिए । 

 

उनका परिवारमा श्रीमती, चार छोरी र एक छोरा छन् ।