रामेछाप नगरको ‘छैटौँ राष्ट्रपति रनिङ शिल्ड’ सुरु, ६४ स्वर्णको लागि ६६८ जना विद्यार्थी प्रतिस्पर्धा गर्दै

| पुस १२, २०८० बिहिबार

A A A
A A A

१२ पुस, रामेछाप । रामेछाप नगरपालिकामा ‘छैटौँ राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता बिहीबार (आज) देखि सुरु भएको छ ।  यो रनिङ शिल्ड सकिए लगत्तै जिल्ला स्तरीय रनिङ शिल्ड सुरु हुँदैछ । 

 

नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा बागमती प्रदेशका सांसदद्वय तारानारायण श्रेष्ठ र आनन्द कुमार श्रेष्ठसहित उपप्रमुख बालाकुमारी कार्की (थापा), प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे, वडा अध्यक्षहरू सहित सुरु भएको रनिङ शिल्ड तीन दिन सम्म चल्ने छ । 

 

१३ वटा माविका ६६८ जना विद्यार्थी/खेलाडीको सहभागिता रहेको सो रनिङ शिल्ड वडा नं ८ स्थित टुँडिखेल मैदानमा खेल हुने नगरको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका शिक्षा अधिकृत नमराज प्रसाद बडूले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘भव्य तरिकाले सुरु भएको छ । यसलाई सफल पर्छौँ ।’

नगरपालिकाको कूल साँढे ८ लाख लागतमा सञ्चालन हुने रनिङ शिल्डमा ६४–६४ स्वर्ण र रजत पद रहेको छ । भने, १०० वटा कास्य पदक रहेको छ । कबड्डी, भलिबल, एथलेटिक्स, मार्सल आर्ट र उसु विधाका खेल समावेश छन् । 

 

खेल उद्घाटन गर्दै नगरपालिका प्रमुख लवश्री न्यौपानेले अनुशासित र मर्यादित भएर खेल्न आग्रह गरे । नगर प्रमुख न्यौपानेले नगर स्तरीय खेलमा उत्कृष्ठता प्रदान गरेर भोलि जिल्ला स्तरीय खेलमा समेत आफ्नो प्रस्तुति देखाउने अवसर रहेकाले विद्यार्थीहरूले आफ्नो क्षमता सहित तरिकाले नगर स्तरीय रनिङ शिल्डमा प्रस्तुत गर्न जोड् दिए । 

यस अगाडि जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका सहित उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोशी, खाँडादेवी, दोरम्बा शैलुङ् र सुनापति गाउँपालिकाले पालिका स्थरीय एवं अन्तर माद्यामिक विद्यालय स्तरीय रनिङ शिल्ड सम्पन्न गरी सकेका छन् । 

 

रामेछाप नगरपालिकाको पालिका स्तरीय रनिङ शिल्ड सम्पन्न भए लगत्तै यही पुस २० गते दिउँसो ३ बजे जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितीमा उद्घाटन हुँदै छ । 

 

त्यसको लागि जिल्ला खेलकुद विकास समितिले सहितको सहयोगमा उमाकुण्ड गाउँपालिकाले समेत तयारी तीव्र पारेको छ । आयोजक जिल्ला खेलकुद विकास समितिले पनि ११ औँ जिल्ला स्तरीय रनिङ शिल्ड सफल पार्न चरणबद्ध छलफल र तयारी अगाडि बढाइएको जनाएको छ ।