रामेछाप नगरको छैटौँ रनिङ शिल्डः गौरीशंकर प्रथम, जनता मावि दोस्रो, श्रीमावि भँगेरी तेस्रो

| पुस १४, २०८० शनिबार

A A A
A A A

१४ पुस, रामेछाप । पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाको ‘छैटौँ राष्ट्रपति रनिङ शिल्ड’को उपाधि गौरीशङ्कर माविले जितेको छ । उसले विगतका वर्षहरूमा पनि उपाधि जित्तै आएको थियो । यो वर्ष रनिङ शिल्ड जीतेसँगै गौरीशङ्कर माविले रनिङ शिल्ड पनि आफ्नो पक्षमा पारेको छ । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा ३३ स्वर्ण, २७ रजत र २५ कास्य पदक प्राप्त गर्न सफल भएको छ ।

 

शनिवार आज नगरको सम्पन्न रनिङ शिल्डमा सबै भन्दा धेरै स्वर्ण सहित शिल्ड गौरिशंकरले जितेको नगरको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका (शिक्षा अधिकृत) नमराज प्रसाद बडूले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार गौरिशंकरले जनता मावि कोलोन्जोलाई पछि पार्दै उपाधि जितेको हो । प्रतियोगितामा जनता मावि कोलन्जोरले १२ स्वर्ण, ८ रजत र ६ कास्य पदक प्राप्त गर्न सफल भएको छ ।

 

विजेता खेलाडीहरूलाई सङ्घीय सांसद एवं नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले जिल्ला समन्वय समिति प्रमुख चिना खड्का (कार्की), नगर प्रमुख लवश्री न्यौपाने, उपप्रमुख बालाकुमारी कार्की (थापा), प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेसहितको उपस्थितिमा शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरे ।  साथै विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि समेत उपस्थित थिए । 

कूल साँढ ८ लाख लागतमा सञ्चालित तीन दिने रनिङ शिल्डमा प्रतिस्पर्धा गरेका छात्रा छात्रलाई नगद पुरस्कार भने थिएन । 

 

नगर भरिका १३ वटा माविका सहभागिता रहेको रनिङ शिल्डमा श्रीमावि भँगेरी तेस्रो बनेको छ । उसले ८ स्वर्ण, ११ रजत र २४ कास्य पदक जित्न सफल भएको छ । वडा नं ८ स्थित सुकाजोरमा रहेको नेपाली सेनाको खेलमैदान टुँडिखेलमा भएको अन्तर माद्यामिक प्रतिस्पर्धामा विद्यालयहरूले उत्साहजनक रूपमा प्रतिस्पर्धा गरेका थिए ।