आज कांग्रेस रामेछापले फर्पुमा ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवस कार्यक्रम गर्दै

१६ पुस, रामेछाप । नेपाली काँग्रेस रामेछापले आज सोमबार फर्पुमा ‘४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवस मनाउँदै छ । त्यसको लागि केही दिन अगाडि देखि नै कार्यक्रम तयारी गरी रहेको जनाएको छ ।
काँग्रेसले पुस १६ लाई पार्टीका संस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा वर्षौँ देखि देश व्यापी कार्यक्रम गर्दै आएको छ । सोही अनुसार जिल्ला कार्य समितिले यो पटक गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पु पिकनिक स्पोट (वडा कार्यालय नजिक) कार्यक्रम गर्दै छ ।
पार्टी भातृ तथा शुभेच्छुक सहित सबै तहका नेता कार्यकर्ताको उपस्थिति हुन गरी कार्यक्रम आयोजना गरिएको सचिव दीपक खड्काले पत्र मार्फत जानकारी दिए । ‘बिहान ११ बजेदेखि कार्यक्रम हुन्छ,’सचिव दीपक खड्काले रामेछाप टाइम्ससंग भने ।
शोकमा रहेको बेला कार्यक्रम गरेको भन्दै आलोचना
पार्टीको केन्द्रीय वार्षिक कार्यक्रम अनुसार जिल्ला कार्यसमितिले मेलमिलाप दिवस कार्यक्रम आयोजना गरे पनि यसको भने सामाजिक सञ्जालमा आलोचना भएको छ ।
गत मङ्गलवार राति हृदय घातबाट ज्यान गुमाएका काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति समेत रहेका राजनारायण श्रेष्ठको निधन भएर १३ दिन समेत नबिति सकेको अवस्थामा पार्टीले औपचारिक कार्यक्रम आयोजना गरेको भन्दै आलोचना भएको हो । स्वर्गीय श्रेष्ठको बिहीबार मात्रै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो ।
पार्टीका नेता, कार्यकर्ताले शोकको यो घडीमा कार्यक्रम राखेर पार्टीले स्वर्गीय सभापति श्रेष्ठले गरेको पाटीको योगदानको कदर नगरेको भन्दै आलोचना गरेका छन् । भने, शोकको यो समयमा गरिएको कार्यक्रममा उपस्थिति समेत नहुने सामाजिक सञ्जालमा लेखेका छन् ।