आउँदो बिहीबार प्रधानमन्त्री ‘प्रचण्ड’ रामेछापको सुनापति आउने निश्चित, यस्तो हुँदै छ तयारी (भिडिओ)

| पुस १६, २०८० सोमबार

A A A
A A A

१६ पसु, रामेछाप । सुनापति गाउँपालिकाको वडा नं ३ हिलेदेवीमा वनेको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न आउँदो बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने पक्का भएपछि सुनापति गाउँपालिकाले तयारी तीव्र पारेको छ । ‘सम्माननीय प्रधानमन्त्री ज्यू आउने पक्का भएपछि हामीले तयारी बढाएका छौँ,’ पालिका अध्यक्ष ठुलो कान्छा तामाङले रामेछाप टाइम्सलाई बताए । 

 

‘प्रधानमन्त्री आउने भएसँगै हामीले मोटा मोटी सबै तयारी जिम्मेवारी बाँड्फाड् गरेका छौँ’ नेकपा माओवादी केन्द्रबाट निर्वाचित पालिका अध्यक्ष तामाङले थपे ‘उहाँ यहाँ आएपछि पहिले बेथापन पानी घाट स्मृति दिवसमा कार्यक्रम छ । त्यहाँ माल्यार्पण हुन्छ,त्यसपछि पालिकामा गएर सिधै कार्यक्रम गर्छौँ ।’  

 

अध्यक्ष तामाङले दोहोर्‍याए ‘माथि अन्य अवस्था नभए सम्म प्रधानमन्त्री आउने कुरा पक्का हो,।’ केही दिन अगाडि प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन् भएको एक वर्षे पूरा भएको अवसरमा विशेष काम बाहेक राजधानी नछोड्ने घोषणा गरेका थिए । यसले पनि प्रधानमन्त्री सुनापति आउनेमा आशंका भने रहेको बुझिएको छ । 

प्रधानमन्त्री नआएको विकल्पमा अरू को आउन सक्छन् भन्ने रामेछाप टाइम्सको जिज्ञासामा अध्यक्ष तामाङले ‘संस्कृति पर्यटन तथा नागरिक उडयान मन्त्री सुदन किराँतीलाई पनि भनेका छौँ ।’ 

 

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले पनि प्रधानमन्त्री आउने भएसँगै तयारीमा लागि रहेको रामेछाप टाइम्सलाई बताए । ‘आउनु हुने भएको छ । त्यसैको तयारीका काम गर्दै छौँ ।’ 

 

गएको मंसिर ८ गते बागमती प्रदेश सांसद युवराज चौलागाईसहित सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट (चौलागाई), लगायत एक दर्जन नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता प्रधानमन्त्री निवास पुगेर ‘सुनापति गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन’ गर्न निमन्त्रणा दिएको थियो । 

 

सो बेला नै प्रधानमन्त्री दाहालले भवन उद्घाटनमा आउने बचन दिएका थिए । सोही कुरालाई स्मरण गराउँदै गत शनिवार पालिकाबाट प्रधानमन्त्री दाहालको सचिवालयमा गएको टोलीसँगको छलफलमा प्रधानमन्त्री उद्घाटनमा आउने जानकारी पाएपछि तयारी अगाडि बढाइएको पालिका अध्यक्ष तामाङले बताएका हुन् । 

 

पालिकाको प्रशासकीय भवनको २०७७/७८ मा तत्कालीन पालिका अध्यक्ष धावा लामाले शिलान्यास गरेका थिए । २ करोड बढी लागतमा ठेक्का मार्फत भवन सम्पन्न भएको हो ।