गोकुलगंगा गाउँपालिकाले ‘जिल्ला स्तरीय रनिङ शिल्ड’मा भाग लिने खेलाडीको निःशूल्क उपचार गर्ने

| पुस १८, २०८० बुधबार

फाइल फोटो ।
A A A
A A A

१८ पसु, रामेछाप । गोकुलगंगा गाउँपालिकाले पर्सी शुक्रवार देखि सुरु हुने ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीको निःशुल्क उपचार गर्ने भएको छ । खेल उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितीमा शुक्रवार दिउँसो ३ बजे उद्घाटन हुँदै छ । त्यसको लागि आयोजक जिल्ला खेलकुद विकास समितिको टोली सदरमुकाम मन्थलीबाट बुधवारै त्यस तर्फ गएको छ । 

 

गोकुलगंगा गाउँपालिकाले तीन दिन सम्म चल्ने ८ वटै पालिकाको उपस्थितिमा हुने खेल अबधिमा आफ्नो पालिकाबाट भाग लिएका खेलाडीलाई कुनै चोट लागे, घाइते भए वा अन्य कुनै उपचार गर्नु पर्ने परिस्थिति बनेमा उनीहरूको निःशुल्क उपचार पालिकाले लिने तयारी गरेको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नरेन्द्र सिंह भण्डारीले रामेछाप टाइम्सलाई बताए । ‘अध्यक्ष्य ज्यूले पनि बोल्नु भएको छ, हामी सबैको निःशुल्क उपचार गर्छौँ, त्यसको तयारी गरेका छौँ ।’

 

यस अगाडि पालिकाले संचालन गरेको अन्तर माध्यामिक रनिङ शिल्डमा एक जना विद्यार्थी घाइते भएर काठमाडौँ सम्म पठाउनु परेको स्मरण गर्दै विद्यार्थी खेलाडीको सुरक्षामा गोकुलगंगाले विशेष ध्यान पुर्‍याएको भण्डारीको दाबी छ । 

 

त्यस्तै भण्डारीले तीन दिन सम्म चल्ने रनिङ शिल्डमा आफ्ना खेलाडीहरूले स्वस्थ प्रतिस्पर्धा गरी शिल्ड उचाल्ने लक्ष्य लिएको भन्दै ‘खेल जित्नको लागि खेलिन्छ, ३ वटा स्वर्ण हामीले जित्नेमा ढुक्क छौँ ।’ 

 

पालिकाहरूले खेलकुद क्षेत्रमा गरेको अब्बलता प्रदर्शन गर्ने जिल्ला स्तरीय रनिङ शिल्डको सबै तयारी पुरा गरेको समेत सह आयोजक उमाकुण्ड गाउँपालिकाले जनाएको छ । खेलाडी व्यवस्थापन सहित अन्य तयारी तीव्र गतिमा गरेको यो पालिकाले खेललाई सफल पार्न सबैलाई आग्रह समेत गरेको छ ।