हाम्रो विद्युत् दीर्घकालीन रूपमा भारतलाई बेच्ने ढोका खुल्यो–प्रधानमन्त्री ‘प्रचण्ड’ (भिडिओ)

| पुस १९, २०८० बिहिबार

A A A
A A A

१९ पुस, रामेछाप । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विद्युत् भारत निर्यात गर्न औपचारिक ढोका खुल्ला भएको बताएका छन् । उनले आफ्नो भारत भ्रमणको समयमा भएका सम्झौतालाई पूर्णता दिन आज (बिहीबार) काठमाडौँमा (रामेछापको सुनापति आउनु अघि मात्रै) भारतीय विदेश मन्त्रीको उपस्थितिमा सम्झौता भएको सुनाउँदै विद्युत् बिक्रीको दीर्घकालीन सुरुवात भएको जिकिर गरेका हुन् । प्रचण्डले भारतसँग मात्रै नभएर बङ्गलादेश सम्म नेपालको विद्युत् बिक्रीको लागि खुल्ला भएको भन्दै त्यसको लागि भारतले समेत सहयोग गर्ने बचन दिएको समेत सुनाए । 

 

‘यो विद्युत् निकास के होला भन्ने आशंका सबै अन्त्य भएको छ, दीर्घकालीन ढोका खुलेको छ, यो खुसीको कुरा हो ।’ 

आज बिहीबार रामेछापको सुनापति गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।आफूले भारत, चीन, अमेरिका, इटली र दुबईमा भएका अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको समृद्धिको लागि आवश्यक पर्ने सबै विषयमा अन्तर्राष्ट्रिय समुदायमा गरेका ध्यानाकर्षण र कामका बारेमा सुनाउँदै नेपाल समृद्धिको बाटोमा अगाडि बढ्दै भएको उनको भनाई छ । 

 

त्यस्तै अहिले गठबन्धन पाँचै वर्ष निरन्तर जाने बताउँदै गठबन्धनका कार्यकर्तालाई ‘ढुक्क हुनुस् अलिकति पनि हलचल गर्दैन । यो गठबन्धन अझ बलियो बनेर जान्छ ।’

 

देशको आर्थिक अवस्था अहिले बलियो बनिसकेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले १३ महिनालाई पुग्ने अन्तर्राष्ट्रिय मुद्रा सञ्चित हुँदै अहिले सम्मकै बढी सञ्चित रकम पुर्‍याउन यो सरकार सफल भएको जिकिर गरे । उनले अहिलेको सरकारले जनमैत्री धेरै काम गरेको दाबी गर्दै भने ‘यो सरकारले गरेका काम देखेर प्रतिगामी तत्त्वहरू सलबलाउँदै र आत्तिँदै गएका छन्’, सुरु सुरुमा त सिद्यो यो सरकार आफै ढल्छ भन्नेहरू अहिले हामीले गरेको काम देखेर अतालिन थालेका पक्कै छन् ।’

 

३ करोड माथिको भवन उद्घाटन 

सुनापति गाउँपालिकाले हाल प्रिफ्याप भवनबाट दिँदै आएको सेवालाई थप सहज र दीर्घकालीन बनाउनको लागि आर्थिक वर्ष २०७७/०७८ देखि २०७९ं/०८० सम्म गरेर ६ ओटा टेन्डर मार्फत प्रशासकीय भवन सम्पन्न गरेको छ । सोही भवन बिहीबार प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने छन् । 

प्रधानमन्त्रीले उद्घाटन गरेको प्रशासकीय भवन

पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीका अनुसार ४ करोड ५६ लाख ४४ हजार ५ सय १५ रुपैयाँ ४ पैसाको लागत अनुमान गरिएको र इबिडिङ मार्फत घटी घटाउमा टेन्डर भएर हाल ३ करोड २८ लाख ४६ हजार ८ सय ८० रुपैयाँ ७ पैसामा निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको भवनमा हाल १० ओटा कोठा र २ ओटा हल रहेका छन् ।