लिखु तामाकोशीमा किसानलाई बेमौसमी तरकारी खेती बारे अभिमुखीकरण, २९ जनालाई ‘टनेल’

| पुस २०, २०८० शुक्रबार

A A A
A A A

२० पुस, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाले बेमौसमी तरकारी खेती सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । साथै सोही कार्यक्रममा कृषकहरूलाई प्लास्टिक टनेल समेत वितरण गरेको छ ।

 

पालिकाको वडा नं १ दुरागाउँमा बिहीबार बेमौसमी तरकारी खेती गर्ने किसानहरूलाई प्रोत्साहन गर्न र तरकारी खेती विस्तारलाई टेवा पुर्‍याउन अभिमुखीकरण कार्यक्रम गरेको पालिकाले जनाएको हो । 

 

घरायसी भान्सामा प्रयोग हुने तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिएर आयात हुने तरकारीको मात्र घटाएर स्थानीय उत्पादनलाई बढवा दिने योजना सहित कार्यक्रम गरेको पालिका अध्यक्ष केशव महतले बताए । 

 

उनका अनुसार घर गाउँमा फल्ने इस्कुस, फर्सी, आलु, सिमी, बोडी, करेला जस्ता तरकारीलाई यही खपत गरी स्थानीयहरूको आम्दानी समेत बढाउने तयारी छ । ‘हामीले यहाँ उत्पादित सबै तरकारीलाई यही खपत गर्न र बाहिर बाट आउने तरकारीलाई रोक्न खोजेका छौँ ।’ 

 

वडा नं १ दुरागाउँका २९ जनालाई बेमौसमी तरकारी खेती गर्न सहयोग पुर्‍याउने उद्श्यले प्लास्टिक टनेल समेत वितरण गरेको जानकारी दिँदै अध्यक्ष महतले आलु उत्पादन बढाउन ‘आलु पकेट’ क्षेत्रको माटो परीक्षण समेत गरिएको बताए । 

 

उनका अनुसार आलु पकेटको लागि करिब २० हेक्टर जमिनको माटो परीक्षण गरिएको हो । कार्यक्रममा पालिकाकी उपाध्यक्ष दीपा पाख्रिन, वडा नं १ का अध्यक्ष प्रदिप कुमार तामाङ लगायतको उपस्थिति रहेको थियो ।