काँग्रेस नेता खड्काले व्यक्तिगत लगानीमा तीन विद्यालयका बालबालिकालाई दिए ‘न्यानो कपडा’

| पुस २०, २०८० शुक्रबार

A A A
A A A

२० पुस, रामेछाप । नेपाली काँग्रेस रामेछापका युवा नेता दिपेन्द्र खड्काले व्यक्तिगत लगानीमा तीन विद्यालयका विद्यार्थीहरूलाई ‘न्यानो कपडा’ वितरण गरेका छन् । साथै उनले विद्यार्थीहरूलाई आगामी दिनमा समेत शैक्षिक सामाग्री निरन्तर सहयोग गर्दै जाने बचन दिएका छन् । 

 

शुक्रवार आज सुनापति गाउँपालिका वडा नं २ दिमीपोखरी स्थित कालीदेवी आधारभूत विद्यालय, श्री माद्यमिक विद्यालय मन्दरा मेलाचौर र वडा नं ४ बेथान स्थित खाँडादेवी प्राविका दुई सय ३५ जना विद्यार्थी बालबालिकालाई न्यानो कपडा प्रदान गरेको खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

‘बालबालिकाको पढाइमा प्रोत्साहन गर्न र पुस माघको जाडोमा न्यानो होस् भनेर सहयोग गरेको हुँ’, नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सदस्य खड्काले प्रस्ट्याउँदै भने ‘पालिकाले विपन्न परिवारका बालबालिकाको पढ्न पाउने अधिकारलाई नै वञ्चित गर्ने गरी विद्यालय मर्ज गरेको थियो । स्थानीयहरूले अदालत पुगेर स्टे अडर लिएर पढाइ सुरु गरेको यो विद्यालयमा थोरै भएनी सहयोग र हौसला होस् भनेर सहयोग गरे ।’

 

तरुण दलको केन्द्रीय सदस्य समेत रहेका युवा नेता खड्काले पालिकाले बालबालिकालाई अप्ठ्यारोमा पर्दै स्थानीयहरूको आवश्यकता विपरीत निर्णय गरेर विद्यालय र बालबालिकामाथि राजनीति गर्न खोजेको समेत जिकिर गरे । ‘पालिकाको त्यो गलत कदमलाई चिर्न र त्यो ठाउँमा विद्यालय आवश्यकता छ भन्ने ध्यानाकर्षण गर्न मेरो सहयोग हो ।’

नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि केशव चालिसे, सम्बन्धित वडाका वडा अध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार राय र काँग्रेस नेतृ सरस्वती राय, नेता रामचन्द्र खड्का सहितको टिम विद्यालयमै पुगेर एक कार्यक्रमका बिच ‘न्यानो कपडा’ प्रदान गरेको खड्काको भनाई छ । 

 

गत स्थानीय तह निर्वाचनमा पालिका अध्यक्षको उम्मेद्वार समेत बनेका खड्काले यस अगाडि पनि पालिकाका विभिन्न विद्यालयहरूमा शैक्षिक सामाग्री, खेलकुदका सामाग्री, बिरामीहरूको उद्दार निःशुल्क प्रदान गर्दै आएका छन् ।

 

युवा समाजसेवी छवि बनाएका तरुण दलका नेता खड्काले आफू पालिका अध्यक्षमा निर्वाचित भए भने पूरै कार्यकाल कुनै सेवा शूल्क नली जनताको सेवा गर्ने घोषणा समेत गरेर चर्चा कमाएका थिए । 

 

चुनावमा पराजय भएर जनसेवा गर्न कुनै फरक नपर्ने भन्दै आफूले सकेको सहयोग गर्ने दोहोर्‍याए । 

 

यस अगाडि हेड्लाइनमा ३ विद्यालय हुनु पर्नेमा अन्यथा भएकोमा सच्याइएको छःस