मन्थलीका दुग्ध किसानको कडा चेतावनी : ‘रामेछाप उद्योग वाणिज्य संघ र प्रशासन घेर्न आउँछौं’

| पुस २१, २०८० शनिबार

A A A
A A A

२१ पसु, रामेछाप । मन्थलीका किसानहरूले तराइबाट पराल ल्याउँदा ट्राफिक प्रहरीले दुःख दिएको भन्दै यसको दीर्घकालीन समाधान खोज्न रामेछाप उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण गराएका छन् । उनीहरूले संघले सो काम तत्काल गरी किसानलाई सहज रूपमा सामाग्री ल्याउन सक्ने वातावरण नबनाए कार्यालय घेर्ने सम्मको चेतावनी दिएका छन् । 

 

शनिवार मन्थलीमा भएको दूध सहकारी संस्थाको पाँचौँ साधारण सभामा अगुवा किसानको तर्फबाट सङ्घका सचिव यज्ञ सुवेदी उपस्थित कार्यक्रम बोल्दै मन्थली भैशेश्वरका होतराज ढकालले भने ‘पराल ल्याउँदा ट्राफिकले १० ठाउँ रोकेर चिट काट्ने । ठाउँ–ठाउँमा रोक्ने गर्दा हाम्रा किसान साथीले बेकारको झन्झट र दुख खेप्नु परेको छ । संघले तत्कालै सम्बन्धित निकायसँग समन्वय गरेर व्यापारीले सामान ल्याउँदा जस्तो सहज हुनु पर्‍यो’ उनले चेतावनी दिँदै भने ‘नत्र सबै किसान सहित प्रशासन र संघको कार्यालय घेर्न आउँछौं ।’

 

नेकपा एमाले जिल्ला कमिटीका उपसचिव समेत रहेका गाई पालक किसान ढकालले संघलाई चेतावनी दिँदै भने ‘यो माग सम्बोधन नभए हामी सबै दुग्ध किसान एक भएर संघको र जिल्ला प्रशासनको कार्यालय घेर्छौँ ।’ उनको उक्त तर्कलाई अन्य उपस्थित किसानहरूले सही मुद्दा उठेको भन्दै सहमति जनाएका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै दुग्ध सहकारीका निवर्तमान अध्यक्ष डुकुना पोख्रेल । तस्बिर मिलन घिमिरे / रामेछाप टाइम्स

उनले किसानहरूलाई विभिन्न बहानामा सामाग्री ढुवानीमा दुःख दिँदा उत्पादित सामाग्री महँगिन पुग्ने भएकाले सहज रूपमा, दाना, घाँस भित्र्याउन सकिने वातावरण सरोकारवालाहरूले गर्नु पर्नेमा जोड् दिए । 

 

लम्पी स्किन रोग लगायतले गर्दा दुग्ध किसानहरू केही समय अप्ठ्यारोमा परेपछि अहिले उत्पादन राम्रो रहेको दुग्ध उत्पादकहरूको भनाई छ । 

 

जवाफमा सङ्घका सचिव सुवेदीले यो किसानको समस्या पहिलो पटक सुनेको भन्दै तत्कालै समाधान गर्न संघले पहल गर्ने प्रतिबद्धता जनाउँदै भने ‘यो पहिलो पटक सुनेको समस्या हो । यदि त्यस्तो छ भने त्यो समाधानको लागि हामी प्रशासन, ट्राफिक, प्रहरी सवैसँग समन्वय गर्छौँ ।’

२०७६ सालका सञ्चालनमा मन्थली दुग्ध सहकारीमा हाल १४३ जना सदस्य आबद्ध भएर दुग्ध उत्पादकहरूको हक, हित र उत्पादित दूधको बजारीकरण गर्दै आएको कार्यक्रम सञ्चालक विष्णु बुढाथोकीले बताए । 

 

जिल्ला दूधमा आत्मनिर्भर भएकोमा खुसी व्यक्त गर्दै यहाँ सञ्चालित डेरीहरूले समेत दुग्ध किसानहरूलाई सहज तरिकाले बजारीकरण गरिएको भन्दै किसानहरूले यसको परिणामलाई अझ बढाउनु पर्ने माग जोड् दिए ।