मन्थली नगर : ढुङ्गा गिट्टी, बालुवा, करडौंको तीनलाल पार्क, आकाशेको घर कुनै पनि भाडा र ठेक्कामा लाग्न सकेन

| पुस २२, २०८० आइतबार

तामाकोशी नदी सहित मन्थली बजार क्षेत्र । तस्बिर फाइल ।
A A A
A A A

२२ पुस, रामेछाप । चालु आर्थिक वर्षको ६ महिना पूरा हुन लाग्दा पनि मन्थली नगरपालिकाको ढुङ्गा, गिट्टी, बालुवा सहित झण्डै ७ करोड लगानीमा बनेको पार्क ‘टेण्डर’मा नलाग्दा आन्तरिक आम्दानीको स्रोत न्यून बनेको छ । 

 

नगरपालिकाले पटक पटक राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यम पत्रपत्रिकाबाट सूचना प्रकाशन गर्दा पनि टेण्डरमा लाग्न नसकेको नगरपालिकाले जनाएको हो । आउँदो २५ गते बुधवार १४ औँ हिउँदे अधिवेशन आह्वान गरी सकेको मन्थली नगरपालिकाले हाल सम्म तामाकोशी नदीको ढुङ्गा गिट्टी, बालुवा ठेक्का लगाउन सकेको छैन । 

 

नगरपालिकाका योजना अनुगमन उप-शाखाका शाखा अधिकृत उज्ज्वल पोखरेलले रामेछाप टाइम्ससंग कुरा गर्दै भने ‘हाल सम्म तीन पटक भन्दा बढी सूचना प्रकाशन भइसक्यो । तर ठेक्का लाग्न सकेको छैन ।’

 

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (एआई) रिपोर्ट अनुसार सेलेघाट क्षेत्र बाहके निश्चित क्षेत्र तोकेर ढुङ्गा, गिट्टी, बालुवा ठेक्का मार्फत बिक्री गर्न पाउने छ । तर, ठेक्का नै नलाग्दा नदीको कच्चा सामाग्रीको प्रयोग हुन पाएको छैन । भने, बजारमा आवश्यक भए पनि बालुवा, गिट्टी, ढुङ्गा समेत बाहिरबाट ल्याउनु पर्ने बाध्यता बनेको हो । 

 

नगरपालिकाले हाल सम्म ३ पटक भन्दा बढी सूचना प्रकाशन गरेर आह्वान गर्‍यो तर ठेक्का लाग्न सकेन, अझै घटाएर सूचना निकाल्ने तयारी हुँदै छ, पोखरेलले भने ।

 

यस अगाडि नगरपालिकाले प्रतिवेदनले तोकिएको सीमा अनुसार सामाग्री निकाल्न मिल्ने गरी भ्याट बाहके १ करोड १० लाखको टेण्डर आह्वान गरेको थियो । 

 

करडौंको तिनलाल पार्कको हाल पनि उस्तै 

त्यस्तै झण्डै ७ करोड लागतमा महिला, परुष र बालबालिकालाई छुट्टा-छुटै स्वमिङ पुल, जिल्लाकै ठुलो दाबी गरिएको सभा हल, गार्डेन सहितको तीनलाल पार्क पनि तीन पटक भन्दा बढी टेण्डर आह्वान गर्दा सम्म ठेक्का लाग्न सकेको छैन । ‘१० वर्षको लागि वार्षिक १० लाख रुपैयाँको टेण्डर आह्वान गर्दा ठेक्का लाग्न नसकेपछि मूल्य घटाएर फेरी अर्को सूचना निकाल्ने तयारी भइरहेको पोखरेलले सुनाए । 

 ४ करोड ३० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको नगरपालिकाले ठुला योजनाहरू नै ठेक्कामा नलाग्दा आय स्रोतको बाटो न्यून बन्दै गएको र आम्दानी ह्वातै घटेको जनाएको हो । गत वर्ष ८२ प्रतिशत लक्ष्य पूरा गरेको यो नगरले चालु आर्थिक वर्षमा भने यो लक्ष्य समेत घट्ने आकलन गरेको छ । 

वडा नं १ मन्थली बजारै प्रवेश मार्ग कै मुख्यद्वरमा रहेको घरको समेत सटर भाडामा नलागेको सुनाउँदै त्यसको लागि समेत अर्को सूचना प्रकाशन गर्ने तयारी रहेको पोखरेलले जानकारी दिए । 

 

आकाशेमा रहेको ६ कोठे सटर मासिक ५० हजारका दरले भाडामा लगाउन खोज्दा समेत लाग्न नसक्दा बेहाल बनेको हो । आन्तरिक आम्दानी पनि नभएको र प्रदेश र संघीय सरकारले पठाउने बजेट समेत कटाएर पठाएपछि नगरपालिकाले त्यसको असर विकास निर्माणमा पर्ने बताएको हो ।