पालिकामा जनताको माग अनुसारको विकास गर्न भन्दै सुनापति गाउँपालिकाले बुझायो प्रधानमन्त्री ‘प्रचण्ड’लाई ३ बुँदे यस्तो माग (पत्रसहित)

| पुस २३, २०८० सोमबार

A A A
A A A

२३ पुस, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले पालिका भित्रको विकास र समृद्धिको लागि आवश्यक उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन बुँदे माग गरेको छ । यो माग पत्र पालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका हुन् । 

 

गत बिहीबार प्रशासकीय भवन उद्घाटन गर्न आएका प्रधानमन्त्री दाहाललाई पालिकाले ‘भौगोलिक विकटताको कारण स्थानीय तहमा प्राप्त भएको बजेट र स्थानीय स्रोत साधनले जनताको माग बमोजिमको विकास सम्भव नभए’को उल्लेख गर्दै संघीय सरकारको तर्फबाट आवश्यक व्यवस्था गरी दिन माग गरेको छ । 

अध्यक्ष तामाङले भवन उद्घाटनको भव्य समारोह मै बेथान पानीघाट र आसपासको क्षेत्रलाई युद्ध पर्यटकीय स्थलको रूपमा विकास गर्ने र सोही स्थान देखी सुनापति गाउँपालिकाको नामकरण भएको सुनापति महादेवस्थान डाँडा, १०८ लहरे माने,  चिया बगान एउटै पर्यटकीय पदमार्गलाई वृहत् आयोजना सञ्चालन गर्न माग गरेको हो । 

 

पालिकाका सडकहरूलाई विस्तार, ऐतिहासिक महत्त्व बोकेको पुरानो गाल्पा बजार सम्म व्यवस्थित सडक विस्तार, सुनापति वृहत् लिफ्ट खानेपानी आयोजना लगायतका माग गरेको माग फाइल अध्यक्ष तामाङले उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदी सहित संघीय सांसद पूर्णबहादुर तामाङ कान्छाराम, प्रदेश सांसदद्वय युवराज चौलागाई र आनन्द श्रेष्ठसहितको उपस्थितिमा प्रधानमन्त्री प्रचण्डलाई बुझाएका हुन् । 

 

प्रधानमन्त्रीलाई अध्यक्ष तामाङले बुझाएको माग पत्र हेर्नुहोस् ।