जिल्ला स्तरीय रनिङ शिल्डः भोलि मात्रै समापन हुने, २४ स्वर्ण जितै मन्थली अग्र स्थानमा, १५ स्वर्ण सहित पछ्याउँदै उमाकुण्ड

| पुस २३, २०८० सोमबार

A A A
A A A

२३ पुस, रामेछाप । तीन दिने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड लम्बिएको छ । आज सोमबार समापन गर्ने तयारी सहित आयोजित ‘११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड’ एक दिन लम्बिएको छ । 

 

सोमबार उमाकुण्ड गाउँपालिका प्रिती च्यादलु खेल मैदानमा साँझ ५ बजे सुरु भएको छात्र तर्फको भलिबल चिसो र अँध्यारोका कारण पूरा हुन नसक्दा खेल भोलि मंगलबार बिहान १० बजे सम्मको लागि थप भएको हो । 

 

मंगलबार बिहान ७ बजेबाटै मन्थली नगरपालिका र सह आयोजक समेत रहेको उमाकुण्ड गाउँपालिका बिच भलिबल खेल हुने छ । ‘आजको खेल बल नदेखिएको कारण पूरा हुन सकेन भोलि बिहान ७ बजे नै खेल सुरु हुने भएको हुँदा ७ बजे अगाडि नै मैदानमा आउनू होला’ कार्यक्रम सञ्चालक जित नारायण श्रेष्ठले उद्घोषण गर्दै भने ‘आजको समापन सत्र यही स्थगित हुन्छ ।’ 

 

आयोजकका अनुसार मंगलबार बिहान फाइनल खेल हुने छ ।  जिल्ला खेलकुद विकास समितिको आयोजना र उमाकुण्ड गाउँपालिकाको सह आयोजनामा गएको शुक्रवार देखि नै रनिङ शिल्ड सुरु भएको हो । 

कूल ६६ स्वर्ण, ६६ रजत र १०६ कास्य पदकको लागि कडा प्रतिस्पर्धा भइरहेको छ । हाल सम्म २४ स्वर्ण सहित मन्थली नगरपालिका अग्र स्थानमा रहेको मन्थली नगरका खेलकुद प्रशिक्षक देवेन्द्र श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

मन्थलीले रनिङ शिल्ड उचाल्ने निश्चित भइसकेको छ । 

 

त्यस्तै उमाकुण्ड गाउँपालिका मन्थलीलाई पछ्याइरहेको छ । उमाकुण्डले हाल सम्म १५ स्वर्ण जित्दै दोस्रो र १० स्वर्ण जित्दै रामेछाप नगरपालिका तेस्रो हुने पक्का भएको आयोजकका विष्णु कुमार श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनका अनुसार हाल सम्म लिखु तामाकोशी गाउँपालिका ४, गोकुलगंगा गाउँपालिका २, सुनापति गाउँपालिकाले १ र खाँडादेवी गाउँपालिकाले ३ स्वर्ण जितेका छन् । भने दोरम्बा शैलुङले स्वर्ण पदक जित्न सकेन । 

 

सोमबारै खेल समापन गर्न बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल मैदान पुगिसकेका छन् । 

 

त्यस्तै पूर्व सांसद एवं नेकपा एसका पोलिटब्युरो सदस्य देवशंकर पौडेल, बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठ पनि कार्यक्रम गएका छन् ।