मन्थली मच्छेडाँडीमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीन जना घाइते

| माघ २, २०८० मंगलबार

सांकेतिक तस्बिर ।
A A A
A A A

०२ माघ, रामेछाप । मन्थली स्थित मच्छेडाँडीमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीन जना घाइते भएका छन् । घाइते मध्ये दुई जनालाई ट्रमा सेन्टर रेफर गरिएको छ । उनीहरु बुबा, छोरो र भतिजी रहेको बुझिएको छ । 

 

सोमबार साँझ मन्थली नगरपालिका वडा नं १ स्थित भैसेश्वर–सालु  सडक खण्डमा भैसेश्वर तर्फबाट रामेछाप डाँडा जाँदै गरेको बा २ ज १८५१ नम्बरको ट्याक्सी र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश २(०१९ प ९५५७ नम्बरको मोटरसाइकल एक(आपसमा ठोक्किँदा मोटरसाइकल चालक रामेछाप नगरपालिका वडा ८ बस्ने अन्दाजी ३८ वर्षी बाबुराम कटुवाल, सोही ठाउँका ६५ वर्षीय शंकर कटुवाल र ११ वर्षीय आरध्या कटुवाल घाइते भएका हुन् । उनीहरू सबै मोटरसाइकलमा सवार थिए । 

 

घाइते मध्ये बाबुराम र शंकरको दाहिने घुँडामुनी फ्याक्चर भएको छ । उनीहरूको अवस्था मध्यम रहेको छ । दुवै घाइतेलाई मन्थली अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागी काठमाडौँ ट्रमा सेन्टर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

मोटरसाइकलको पछाडि बसेकी आरध्याको हात र खुट्टामा सामान्य चोट लागेको थियो । उनलाई मन्थली अस्पतालमा सामान्य उपचार पश्चात् डिस्चार्ज गरिएको प्रहरी निरीक्षक रञ्जन गिरीले रामेछाप टाइम्सलाई बताए । 

 

 

दुर्घटनामा परेको मोटरसाइकल र ट्याक्सी चालक काभ्रे चौरी देउराली गाउँपालिका वडा नं ५ बस्ने ४० वर्षीय कृष्ण प्रसाद ढुङ्गानालाई  प्रहरीको नियन्त्रणमा लिइए र अनुसन्धान गरिरहेको प्रवक्ता समेत रहेका निरीक्षक गिरीले जानकारी दिए ।