वृहत् रामेछाप महोत्सवमा रक्तदान : ३० जनाले गरे रगत दान

| माघ ६, २०८० शनिबार

A A A
A A A

६ माघ, रामेछाप । ‘वृहत् रामेछाप महोत्सव’को अवसर पारेर शनिवार गरिएको खुल्ला रक्तदानमा आयोजक सहित ३० जनाले  रक्तदान गरेका छन् । मन्थली स्थित जिल्ला समन्वय समितिको मैदानमा जारी ११ दिने वृहत् महोत्सवमा जिल्लामा रगतको अभाव भएको परिस्थितिलाई मध्यनजर गर्दै रक्तदान गरिएको थियो ।

 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको आग्रह र प्राविधिक सहयोगमा महोत्सव आयोजक रामेछाप उद्योग वाणिज्य संघको समन्वयमा रक्तदान गरिएको संघका महासचिव कुमार श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । ‘रेड्क्रससंग अहिले स्टक नभएको भन्ने कुरा आएपछि महोत्सवमा रक्तदान गर्दा अलि बढी प्रभावकारी हुन्छ भनेर राखेका हौँ ।’

 

बिहान ९ बजे देखि साँढे ४ बजे सम्म गरिएको रक्तदानमा उद्योग वाणिज्य संघका पदाधिकारी,सदस्य, रेडक्रसका उपसभापति नारायण दाश श्रेष्ठ, महिला उपसभापति कलपना केसी (बोहोरा), पत्रकारहरू सहित ३० जनाले रक्तदान गरेको रेडक्रस रामेछापका शाखा प्रमुख विष्णु बहादुर बुढाथोकीले रामेछाप टाइम्सलाई बताए । 

 

जाडोको मौसम सुरु भए यता जिल्लामा रगतको अभाव नै रहेको भन्दै बुढाथोकीले आज ३० पाउन्ड रगत संकलन भएको जानकारी दिए । जिल्लामा मासिक ३० देखि ३५ पाउन्ड रगत खपत हुँदै आएको छ । भने, जाडो याम लागे यता रक्तदान गर्नहरु कम हुँदा केही अभाव देखिएको हो । 

 

स्टकमा रगत नहुनु र माग बढ्दा रक्तदान गर्न रेडक्रसले उद्योग वाणिज्य सङ्घलाई आग्रह गरेको बुढाथोकीले सुनाएका हुन् । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार