गोकुलगंगा गाउँपालिकामा न्यायिक समितिको काम प्रभावकारी

| माघ ९, २०८० मंगलबार

A A A
A A A

९ माघ, रामेछाप । गोकुलगंगा गाउँपालिकामा न्यायिक समितिको काम प्रभावकारी देखिएको छ । पछिल्लो समय गाउँपालिकाको न्यायिक समितिले गाउँ–टोलमै मेलमिलाप गर्ने क्रम बढाउँदा पालिकामा यस्ता समस्या लिएर जानेको संख्यामा नै कमी आएको हो । 

 

मंगलबार रामेछाप टाइम्ससंग कुराकानी गर्दै गाउँपालिकाकी न्यायिक समिति सहजकर्ता शर्मिला कार्कीले आफूहरूले गरेको सकारात्मक प्रयासले समितिमा मुद्दा दर्ता न्यून बनेको बताएकी हुन् । ‘अहिले त एउटा मात्रै मुद्दा बाँकी छ, अरू सबै समाधान वा मेलमिलाप गरिसक्यौँ ।’

 

गत वर्षबाट सरेर आएको दुई वटा सहित ३३ वटा मुद्दा चालु आर्थिक वर्षको ६ महिनामा एउटामा झार्न सफल भएको सुनाउँदै सहजकर्ता कार्कीले भनिन् ‘गाउँ घरमा हुने घटनालाई मेलमिलापलाई नै हामीले प्राथमिकता दिएका छौँ । यसलाई बढवा दिनू भन्दा न्याय नमर्ने गरी समाधान गर्दैछौं ।’

 

उनका अनुसार पुस मसान्त सम्म आइपुग्दा गोकुलगंगामा एउटा मात्रै मुद्दा बाँकी छ । त्यो पनि आफूहरूले समाधान गर्न पहल गरी रहेको सुनाउँदै कार्कीले भनिन् ‘उहाँहरू नै सम्पर्कमा नआएर मात्रै हो, त्यसलाई पनि टुङ्ग्याउने हाम्रो प्रयास जारी छ।’

 

हाल ६ वटै वडामा सञ्चालनमा आएको मेलमिलाप केन्द्रमा सूचीकृत भएर ३३ जना मेलमिलाप कर्ताहरूले न्यायिक समितिमा जोडिएर गाउँ घरमा हुने सामान्य प्रकृतिका कुटपिट, झैझगडा, साँध सिमाना, भनाभन, गाली बेइज्जती, सामान्य लेनदेनका विवादहरूलाई मेलमिलापको माध्यबाट समाधान गर्दै आएका छन् । 

 

विभिन्न समयमा मेलमिलाप सम्बन्धी तालिम लिएका यो पालिकामा ६० जना भन्दा रहेको पालिकाले गरेको एक अध्ययनबाट पत्ता लागेको छ । ती मध्येमा पालिकामा सूची कृति भएकाहरूले काम गर्दै आएका छन् । 

 

उपाध्यक्षको संयोजकत्वमा पालिकामा हुने न्यायिक समितिले हेर्न नमिल्न घटनाहरू पनि गएको तीन वर्षमा ३ वटा मात्रै आफूहरू माझ आएको भन्दै ती ‘केश’ जिल्ला अदालत, प्रहरी लगायतमा जान आफूहरूले सुझाएर पठाएको सुनाइन् । 

 

विगत ३ वर्ष भन्दा लामो समयदेखि त्यहाँको न्यायिक समितिमा रहेर काम गरेको अनुभव सुनाउँदै सहजकर्ता कार्कीले भनिन् ‘अहिले सम्म हामीले गरेको मेलमिलापलाई चित्त बुझेन भनेर कतै उजुरी समेत परेको छैन, र हामीले कसैलाई अन्याय हुने गरी निर्णय पनि गरेका छैनौँ ।’

 

बेला बेलामा मेलमिलाप कर्ताहरूलाई पुर्न ताजगी तालिम समेत दिँदै आएको सुनाउँदै यही माघ अन्तिममा पनि पुर्न ताजगी तालिम सञ्चालन गर्न लागेको जानकारी गराइन् । 

मिलन घिमिरे
| भदौ ६, २०८१ बिहिबार