जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा दोस्रो बनेको उमाकुण्डले खेलाडी र प्रशिक्षकलाई नगद सहित सम्मान गर्‍यो

| माघ ११, २०८० बिहिबार

A A A
A A A

११ माघ, रामेछाप । गएको पुस २४ गते आफ्नै खेल मैदानमा  सम्पन्न भएको ‘११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा १६ स्वर्ण, ७ रजत र २६ कांस्यसहित ४९ पदक जित्तै उप–विजेता बनेको उमाकुण्ड गाउँपालिकाले खेलाडी र प्रशिक्षकलाई नगद सहित सम्मान गरेको छ । साथै योपालिकाका केही खेलाडीहरु उत्कृष्ठ घोषित बनेका थिए । 

 

बुधवार गाउँपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले,उपाध्यक्ष सावित्री सुनुवार र सातै वडाका वडा अध्यक्षहरू सहितको उपस्थितिमा नगद ५ हजार, ३ हजार र २ हजार सहित प्रमाणपत्रले सम्मान गरेको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका ङावा शेर्पाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उक्त अवसरमा बोल्दै पालिका अध्यक्ष सुनुवारले खेलकुद क्षेत्रमा आफूहरूले केही सुधारको प्रयास गरे पनि अझै त्यो पर्याप्त नरहेको धारणा राखे । साथै खेलाडीहरूलाई आगामी दिनमा थप मेहनत र अनुशासित भएर कला प्रदर्शन गर्न आग्रह गर्दै भने ‘यो तपाईँहरूलाई प्रोत्साहन गर्ने माध्यम मात्रै हो, यो पर्याप्त छैन । हामी सबैले मेहनत गर्न बाँकी छ।’

  

त्यस्तै बुधवारै सातै वडाका अध्यक्षहरूले वडा भित्रका माद्यामिक विद्यालयलाई १–१ वटा भलिबल समेत प्रदान गरेका छन् । भने, पालिका अध्यक्ष सुनुवारले गाउँपालिको केन्द्र प्रिती च्यादलुमा स्थापित ‘खेलकुद विकास समितिको कार्यालय’ पनि उद्घाटन गरेका छन् । योसँगै अब उमाकुण्डमा खेलकुद विकास समितिको कार्यालय पनि संचालनमा आएको छ । 

‘खेलकुद विकास समितिको कार्यालय’ पनि उद्घाटन गर्दै पालिका अध्यक्ष सुनुवार, तस्बिर ङावा शेर्पाबाट 

 

जनप्रतिनिधिहरू सहित पालिका भित्रका सात वटै माध्यमिक विद्यालयका प्रधानाध्यापक, खेलकुद विकास समितिका पदाधिकारी, सबै वडाका वडा स्तरीय खेलकुद विकास समितिका संयोजक र खेलाडीहरूको उपस्थितिमा कार्यालय उद्घाटन र पुरस्कार वितरणको कार्यक्रम सम्पन्न भएको शेर्पाले जानकारी गराए । 

 

गएको पुस २० गतेदेखि सुरु भएको ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड भने २५ स्वर्ण जित्दै लगातार दोस्रो पटक मन्थली नगरपालिकाले जितेको थियो ।