सिडिओले ‘समाचार लेख्न सिकाएको थिएँ’ भन्ने अभिव्यक्ति दिएपछि पत्रकार महासंघले जनायो आपत्ति

| माघ १२, २०८० शुक्रबार

A A A
A A A

१२ माघ, रामेछाप । जिल्ला भित्रका क्रियाशील पत्रकारहरूलाई आफ्नै कार्यकक्षमा डाकेर पत्रकारहरू माथि नै आक्रोशित र अमर्यादित व्यवहार गरेको भन्दै पत्रकार महासंघ रामेछापले आपत्ति जनाएको छ । उसले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सिंगो पत्रकारिता माथि नै आँच पुर्‍याउने गतिविधि गरेकोमा आपत्ति जनाएको हो । 

 

बिहीबार ‘सिडिओ’ निरौलाले जिल्लाका सबै पत्रकारलाई आफ्नो कार्यकक्षमा डाकेर बिनु यादवको घटना प्रकरणलाई उल्लेख गर्दै सिंगो पत्रकार र पत्रकारिता पेसामाथिकै आपत्ति जनक आरोप लगाएकी थिइन् । 

 

सोही विषयमा विज्ञप्ति जारी गर्दै पत्रकार महासंघ रामेछापले शुक्रवार ‘आफूले रामेछापमा कार्यभार सम्हाल्नासाथ समाचार लेख्न सिकाउँदा समेत सही समाचार सम्प्रेषण नगरेको कुराले आफूलाई दुखित बनाएको भन्ने जस्ता अभिव्यक्ति प्रति’ घोर भर्त्सना व्यक्त गर्दै यस प्रकारको विवादास्पद अभिव्यक्ति नदोहोर्‍याउन समेत चेतावनी दिएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 

  नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले हस्ताक्षर गरेको विज्ञप्तिमा ‘आम सञ्चारकर्मी साथीहरूको आत्मसम्मानमा चोट पुग्नुका साथै स्वतन्त्र प्रेस माथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ’ भनिएको छ । 

 

यो हेर्नुहोस् महासंघले जारी गरेको विज्ञप्ति