मन्थली–१२ गेलुः वडा स्तरीय हाजिर जवाफमा सिक्राल मावि पहिलो, पशुपति दोस्रो र तेस्रो

| माघ १३, २०८० शनिबार

A A A
A A A

१३ माघ, रामेछाप । मन्थली नगरपालिका वडा नं १२ गेलुको बालमैत्री स्थानीय शासन वडा समितिले गरेको वडा स्तरीय हाजिर जवाफ प्रतियोगितामा मावि सिक्राले पहिलो भएको छ । वडा भित्र रहेका एक आधारभूत र एक माध्यमिक विद्यालयका २–२ समूह गरी चार समूह सहभागिता रहेको वडा स्तरीय हाजिर जवाफ प्रतियोगितामा सिक्राल माविका विद्यार्थीले पहिलो हुँदै शैक्षिक सामाग्री पुरस्कार प्राप्त गरेका छन् । 

 

पशुपति आधारभूत विद्यालय भुलभुलेका विद्यालय व्यवस्थापन समितिका (विव्यस) अध्यक्ष श्यामकुमार कार्कीको अध्यक्षता र सोही वडाका वडा अध्यक्ष खिलेन्द्र खत्रीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा पशुपति आविका क्रमशः समूह ‘ए’ र ‘बि’ द्वितीय र तृतीय बनेका छन् । 

 

शुक्रवार सम्पन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रा छात्रलाई वडा अध्यक्ष, (विव्यस) अध्यक्ष र वडा सचिव रामहरि अधिकारीले संयुक्त रूपमा शैक्षिक सामाग्री एवं पुरस्कार प्रदान गरे । 

 

बालमैत्री स्थानीय तह घोषणामा जुटेको मन्थली नगरपालिकाको कार्यक्रम अन्तर्गत १२ नं वडामा पछिल्लो समय ‘डस्बिन’ वितरण, सार्वजनिक स्थल सरसफाइ गर्ने, बालबालिकासँग विभिन्न तहमा अन्तरक्रिया र छलफल सहित उनीहरूको प्रत्यक्षे सहभागिता रहने कार्यक्रमहरू चरणबद्ध रूपमा संचाल गर्दै आएको बालमैत्री वडा सहजकर्ता एवं कम्प्युटर अपरेटर लक्की शंकर (घिमिरे) ले बताइन् । 

 

हाजिर जवाफ कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष खत्रीले बालमैत्री नगर घोषणा कार्यक्रम अन्तर्गत आफूहरूले यो कार्यक्रम गरेको बताउँदै आगामी दिनमा बालबालिकालाई थप क्रियाशील र सक्रिय बनाउन अन्य कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाए । 

 

उनले वडा कार्यालयबाट प्रवाह भइरहेका कार्यक्रमहरूमा समेत केही कमजोरी भएको भए आफूहरूलाई भन्न आग्रह गर्दै विद्यालय सुधार गर्दै शैक्षिक गुणस्तरलाई बढाउन लाग्न सबैको साथ आवश्यक रहेको धारणा राखे । 

 

त्यस्तै (विव्यस) अध्यक्ष कार्कीले वडा तहबाट हुने यस्ता प्रतियोगिताहरूले विद्यार्थीको पठनपाठनमा थप प्रोत्साहन हुने भएकाले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरू गर्न माग गरे । उनले बालबालिकाहरूले पनि सक्रिय सहभागिता जनाउँदै आफ्नो क्षमता र कला प्रस्फुटन गर्न जोड् दिए । 

 

वडाले बालबालिकाहरूमा पछिल्लो समय देखिँदै गएको पठनपाठन प्रतिको अरुचिलाई ध्यानमा राख्दै आएको बताउँदै त्यसलाई चिर्नको लागि हाजिर जवाफ प्रतियोगिता गरिएको वडा सचिव अधिकारीले प्रस्ट्याए । शैक्षिक सुधार गर्दै बालबालिकाहरूको पढाइ र शैक्षिक गुणस्तरलाई सुधार्न वडाले विशेष प्राथमिकता दिने समेत बचन दोहोराए । 

 

कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावक गरी झण्डै १५० जनाको सहभागिता रहेको थियो ।