परीक्षा हलबाटै शिक्षकले ‘लाइभ’ गरेपछि आपत्ति जनाउँदै कार्कीले मन्थली माविलाई सोधे– ‘यसको जवाफ दिनुस्’

| माघ १३, २०८० शनिबार

A A A
A A A

१३ माघ, रामेछाप । नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले मन्थली माविका शिक्षकहरूले परीक्षा हलबाटै फेसबुक लाइभ गरेको भन्दै आपत्ति जनाउँदै प्रश्न गरेका छन् । उनले यसरी शिक्षकले परीक्षा हलबाटै फेसबुक लाइभ गर्नु कत्तिको सान्दर्भिक र जायज हो भन्नेर मनन् गर्न समेत विद्यालयलाई सुझाएका छन् । 

 

शनिवार मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभामा पार्टीको तर्फबाट शुभकामना दिँदै उपसभापति कार्कीले भने ‘यो माविका शिक्षकहरूले आजै बिहान पनि परीक्षा हलबाटै फेसबुक लाइभ गर्दै थिए । के त्यो राम्रो हो ? यसले परीक्षा दिई रहेका बालबालिकालाई राम्रो गरेको छ ? विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र शिक्षकहरूले सोच्नु होला र जवाफ दिनूस् ।’

 

जिल्ला सदरमुकाम स्थित मन्थली माविको विभिन्न गतिविधिलाई नजिकबाट पार्टी प्रतिनिधि र एक अभिभावकको तर्फबाट समेत नियाल्दै आएको सुनाउँदै प्रविधि मैत्री बनाउँदा बालबालिकालाई असहज हुने गरी भइरहेका गतिविधिले विद्यालयको गोपनीयतालाई समेत उदाङ्गो बनाउने उनको भनाई छ । 

उपसभापति कार्कीले गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि विद्यार्थीहरूलाई विद्यालयमा टिकाउने र व्यवहारिक शिक्षालाई जोड् दिनु पर्ने सुझाए ।