प्रदेश मन्त्री मोक्तानले भनिन् –प्रदेश ‘शिक्षा नीति’ अन्तिम चरणमा पुग्यो, आफ्नै विश्व विद्यालय समेत बनाउदैछौँ’ (भिडिओ)
१३ माघ, रामेछाप । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदेश ‘शिक्षा नीति अन्तिम चरणमा पुगेको बताएकी छन् । विद्यालय र क्याम्पसहरूमा विद्यार्थीहरूको सङ्ख्या क्रमशः घट्दै गएको अवस्था उल्लेख गर्दै ‘भएका विद्यार्थीलाई गुणस्तरीय र उनीहरूको रुचि अनुसारको शिक्षा दिएर टिकाउनु पर्छ । र, निजी स्कुल पढ्नेहरूलाई तान्ने बनाउँदै जानु पर्छ ।’ उनले १२ कक्षा पास गरेका विद्यार्थीलाई यहीँ रोकेर बिदेसिने वातावरणलाई क्रमशः घटाउनु पर्ने धारणा राखिन् ।
उनले शिक्षा नीतिमा प्रदेश र स्थानीय सरकार मिलेर व्यावहारिक शिक्षालाई जोड् दिने गरी बनाइएको जानकारी दिँदै भनिन् ‘त्यसको लागि प्रदेश र स्थानीय तह जोइनमा कार्यान्वयनमा लानू पर्छ, अनुदान स्वरूप सहयोगको समेत व्यवस्था हुने गरी शिक्षा नीति अन्तिम चरणमा पुगेको छ ।’
प्रदेशले आफ्नै विश्व विद्यालय समेत स्थापना गरेर पठनपाठन गर्न लागेको बताइन् । ‘त्यो विश्व विद्यालय बनेर सञ्चालन भएपछि यहाँ डाक्टर सर्वसुलभ मूल्यमा डाक्टर पढ्न पाइन्छ।’
विद्यार्थीहरूलाई आकर्षण गर्न नसकेको अध्ययन प्रतिवेदन समेतले प्रस्ट्याएको बताउँदै मन्त्री मोक्तानले प्रदेशका ‘कुन जिल्लामा के पठनपाठन आवश्यक छ, त्यसको व्यवाहिरक शिक्षा प्रदान गर्न प्रदेश सरकार लागेको छ’ भनिन् ।
प्रदेशका ४० वटा क्याम्पसलाई १० लाखको दरले अनुदान दिने तयारी गर्दै छौं ।
मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीको तेस्रो क्याम्पस सभालाई शनिवार मन्थलीमा सम्बोधन गर्दै उनले नर्स, डाक्टर पढ्नको लागि सिन्डिकेटकै कारण सबैले पढ्न नपाएको दोहोर्याइन् । ‘त्यो अन्त्य गर्न प्रदेश सरकार लागेको छ ।’
नेकपा माओवादी केन्द्रकी नेतृ समेत रहेकी मन्त्री मोक्तानले प्रदेशका क्याम्पसहरूको शैक्षिक सुधारको लागि छात्रवृत्ति, स्टाफ नर्सको व्यवस्था, शून्य दरबन्दी भएको ठाउँमा दरबन्दी, भौतिक पूर्वाधार निर्माण गर्दै आएको छ ।
त्यस्तै आगामी आर्थिक वर्षबाट शैक्षिक सुधारको लागि प्रदेशका ४० वटा क्याम्पसलाई १० लाखको दरले अनुदान दिने समेत बताइन् । उनले विगत देखिनै ‘छोरी बुहारी छात्रवृत्ति’ गाउँ–गाउँमा बस्ने छोरी बुहारी दिदी बहिनीलाई प्रदान भइरहेको उल्लेख गर्दै यसलाई निरन्तर सञ्चालनमा रहेको बताइन् ।
मन्त्री मोक्तानले नीति र विधि भित्र रहेर मन्थली क्याम्पसलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।