मन्थली क्याम्पस संचालक समितिको अध्यक्षमा गठबन्धनका उम्मेद्वार घिमिरेलाई पराजित गर्दै एमालेका उम्मेद्वार सुवेदी निर्वाचित

१४ माघ, रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीको संचालक समितिको अध्यक्षमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उज्वल सुवेदी निर्वाचित भएका छन् ।
आज भएको मतदानमा सुवेदी गठबन्धन तर्फका उम्मेद्वार नवराज घिमिरेलाई ५ मतले पराजित गर्दै निर्वाचित भएको निर्वाचन समितिकी संयोजक एवं क्याम्पसकी सहायक प्रमुख रीता दाहालेले रामेछाप टाइम्सलाई बताइन् । ‘घोषणा हुने बाँकी छ । तर, हामी तयारीमा छौँ । उज्वल सुवेदीले ५ मतले जित्नु भयो’ रामेछाप टाइम्ससंग भनिन् ।
आज बिहान १० ः ३५ देखि साँझ ५ बजे सम्म भएको मतदानमा कूल १२२ मत मध्य ११५ मत खसेको थियो ।
अध्यक्ष र एक महिला सदस्य सहित ६ जना निर्वाचित हुने व्यवस्था अनुसार गठबन्धन तर्फका रामचन्द्र अधिकारी, नवीन केसी, दीपक राज प्रसाई, युवाराज सुवेदी र सावित्रा घिमिरे निर्वाचित भएका छन् ।