स्थानीयलाई पीडामा पार्दै आएको लिखु–२ आयोजना र प्रभावित क्षेत्रका स्थानीय बिच छलफल, तीन बुँदे यस्तो भयो सहमति ?

| माघ १५, २०८० सोमबार

फाइल फोटो ।
A A A
A A A

१५ माघ, रामेछाप । विना सूचना जल विद्युत् आयोजनाको ड्यामको पानी छोडेर स्थानीयहरूको दैनिकीमाथि ठुलो असर पुर्‍याएको लिखु–२ जल विद्युत् आयोजना र प्रभावित क्षेत्रका स्थानीयहरू बिच छलफल भएको छ । सो छलफलले तीन बुँदे महत्त्वपूर्ण निर्णय समेत गरेको छ । 

 

गत आइतबार दुगड समूहको लगानीमा बनेको लिखु–२ र  प्रभावित क्षेत्र उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल र सोलु खुम्बुको लिखु पिके गाउँपालिकाका स्थानीयहरू बिच विभिन्न ३ बुँदे निर्णय सहितको छलफल भएको हो । 

 

छलफलमा प्रभावित क्षेत्रका स्थानीयहरूले जल विद्युत् आयोजनाले विभिन्न बहानामा आफूहरूलाई पीडामाथि पीडा दिने काम गरेको गुनासो गरेका थिए । 

 

केही महिना अघिदेखि व्यावसायिक उत्पादन दिन थालेको ५५ मेघावाट क्षमताको लिखु–२ जलविद्युत् आयोजना र पीडित स्थानीयहरूको छलफलमा उठेका मागहरू आयोजनाले क्रमिक रूपमा प्राविधिक जाँच बुझ गरी सम्बोधन गर्दै जाने निर्णय भएको गुम्देलका स्थानीय टेकबहादुर कार्कीले बताए । 

 

 

घाट बनाउनु पर्ने, साइरन राख्न पर्ने र मन्दिर बनाउनु पर्ने निर्णय

 

वडा नं १ गुम्देलका वडा अध्यक्ष ङातुण्डु शेर्पा सहितको उपस्थितिमा भएको छलफलमा आयोजनाले तत्काल घाट निर्माण गरिदिने, ड्यामको पानी खोल्नु पूर्व जानकारी दिने साइरनको व्यवस्था गर्ने र त्यस क्षेत्रको महत्त्वपूर्ण धार्मिक स्थल उमातिर्थिको निर्माण समेत गर्ने निर्णय भएको गुम्देलका स्थानीय झपड कार्कीले बताए । 

 

कार्कीका अनुसार आयोजनाले गुम्देलको तावा हुँदै ठाडो खोला सम्म स्थानीयहरूको माग बमोजिम घाट बनाइदिनु पर्ने छ । 

 

त्यस्तै कम्पनीले अन्य जलविद्युत आयोजनाको स्थलगत अध्ययन गरी बाँधको पानी खोल्दा पूर्व सूचना दिने साइरन र अन्य प्रविधि राख्ने निर्णय भएको हो । 

 

आयोजनाको मुख्य ड्याम निर्माण गरिएको स्थल गुम्देलको लाछेवर टाङ्दिङ भन्ने ठाउँमा अवस्थित पालिकाकै महत्त्व बोकेको र आयोजनाकै कारण अलपत्र अवस्था बन्न पुगेको उमातिर्थ मन्दिरको समेत आयोजनाले कम्पनीको प्रधान कार्यालयमा छलफल गरी निर्माण कार्य अगाडी बढाउने निर्णय भएको बैठक पछि जारी निर्णयमा उल्लेख गरिएको छ ।